संखुवासभा/ ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयको खस्किदो शैक्षिक अवस्थालाई सुधार गर्न युनाइटेड वल्ड स्कुल्स (युडब्लुएस) नेपाल लागिरहेको छ ।
विशेष गरि ग्रामीण क्षेत्रको जीर्ण र खस्किदो शैक्षिक अवस्था रहेको सामुदायिक विद्यालयमा स्थानीय सरकारसँगको सहकार्यमा लगानी गरी रहेको छ । ०७२ साल देखी शुरु भएको यो संस्थाले संखुवासभा, गुल्मी र ताप्लेजुङमा गरि ७६ वटा विद्यालयमा लगानी गरीसकेका छन् । तिमध्ये पाँच बर्ष पूरा भएको १३ वटा विद्यालय स्थानीय तहलाई हस्तान्तरण समेत गरिसकेका छन् ।
हाम्रो गाउँठाउँको विद्यालयको शैक्षिक अवस्था, विद्यालयको संरचना, पूर्वाधार हेर्दा विद्यार्थीहरुलाई विद्यालय प्रति आकर्षित गर्ने खालका नभएको पाइएकाले हाम्रो शैक्षिक सुधार नगरेसम्म विकास र समृद्धिको कुरा नारामा मात्रै सिमित हुने भएकाले विशेषः गरि ग्रामीण क्षेत्रको शैक्षिक सुधारका लागि संस्थाले काम गरिरहेको युनाइटेड वल्ड स्कुल्स (युडब्लुएस) नेपालका अध्यक्ष खेमराज खड्काले बताए ।
युनाइटेड वल्ड स्कुल्स (युडब्लुएस) नेपालका शिक्षा संयोजक आशिष अधिकारीले हालसम्म संस्थाले ७६ वटा विद्यालयमा ५ सय ९ वटा कक्षाकोठा निर्माण गरिसकेको बताए । जसमा १३ हजार ९ सय २८ विद्यार्थीहरुले फाइदा लिएको बताए ।
उक्त संस्थाले संखुवासभामा ४९ वटा, गुल्मीमा १८ वटा र ताप्लेजुङमा ५ वटा विद्यालयमा लगानी गरेको छ । संखुवासभाका १० मध्ये चिचिला गाउँपालिका बाहेकका ९ पालिकामा कार्यक्रम लागु भएको छ । आगामी बर्षदेखि भोजपर, हुम्ला, धनकुटा र तनहुँमा कार्यक्रम लागु हुने शिक्षा संयोजक अधिकारीको भनाइ छ । ग्रामीण समुदायमा गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न युडब्लएस र स्थानीय सरकारसँग साझेदारी गरि कार्यक्रम लागु हुने गरेको छ ।
ग्रामीण क्षेत्रका सिमान्तकृत र पछाडि परेका वालवालिकालाई शिक्षाको पहुँचमा ल्याउन संस्थाले काम गर्दै आएको छ । विद्यालयमा विद्यार्थीले विचैमा कक्षा छाडने दरलाई कम गर्न संस्थाले काम गरेको उनीहरुको दावी छ । विद्यार्थीले विचैमा कक्षा छाड्नुको कारण पहिचान गरी रोक्नका लागि विद्यालय अवधारण टोली गठन गरी काम गर्दैआएको बताउँछन् ।



