मोरङ: मोरङको जहदा गाउँपालिका १ का वडाध्यक्ष बाबुराम राजवंशीका नाबालक छोरालाई अपहरण गरेको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जहदा १ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका १८ का २१ वर्षीय विवेकानन्द यादव रहेका छन् ।
जहदा १ बुधनगरबाट पक्राउ परेका तीनै जना मिलेर १० वर्षीय धनीधर राजवंशीलाई अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुमा अभिषेकलाई नियन्त्रणमा लिएको प्रहरी त्यसपछि अरु दुई जनालाई पक्राउ गर्न सफल भएको हो ।
मंगलबार दिउँसो अपहरणमा परेका नाबालक उनी वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन् । प्रहरीले विराटनगर १८ बाट उनलाई सकुशल उद्धार गरेको छ ।
बालक अपहरणमा परेको जानकारी पाउनसाथ अपहरणकारीको खोजी र बालकको उद्धारका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका थिए । प्रहरी स्रोतकाअनुसार अभिभावकसँग फिरौती रकम असुल्नकै लागि बालकको अपहरण गरिएको दाबी गरेको छ ।