Tuesday, December 3, 2024
समाज'विदेशकाे सपना त्यागेर पुर्ख्याैली पेसा जाेगाउदै'

‘विदेशकाे सपना त्यागेर पुर्ख्याैली पेसा जाेगाउदै’

भोजपुर: धेरै युवामा विदेशप्रतिको मोह रहे पनि भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ कोटका केही युवा पुर्ख्यौली कालिगड पेसामा रमाउँदै छन्। पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको स्थानीय महेन्द्र रसाइलीले बताए ।

परम्परागत भोजपुरे खुकुरी बनाउने पेसा सङ्कटमा पर्ने अवस्था आएकाले यसको संरक्षणमा जुटेको उनले बताए । आफ्नो उद्योगमा उत्पादन भएका खुकुरी भोजपुर सदरमुकामसँगै स्थानीय बजारमा बिक्री गर्दै आएको उनको भनाइ छ। आफूले भोजपुरे, सिरुपाते, चित्लाङ्गले, कोथीमोडा लगायतका खुकुरी बनाउने उनले बताए। स्वदेशमा नै कालिगड पेसा गरेर परिवारको घर खर्च धान्दै आएको उनले बताए।

‘विदेशप्रतिको मोह त्यागेर पुर्ख्यौली कालिगड पेसा गर्दै आएको छु’,उनले भने, ‘हामीजस्ता नयाँ पुस्ताले संरक्षणमा ध्यान नदिने हो भने यो पेसा सङ्कटमा पर्ने अवस्था छ। विभिन्न प्रकारका खुकुरी बनाउँदै आएको भए पनि मोफसलमा व्यवसाय सञ्चालन गरेकाले बजारीकरणमा केही समस्या रहेको उनको भनाइ छ। कतिपय खण्डमा मेहनतअनुसारको आम्दानी लिन समस्या हुने गरेको उनले बताए ।

सामुदायिक वनबाट सहज रूपमा कोइला ल्याउन पाउने अवस्था नहुँदा समस्या भएको कालिगडहरूको भनाइ छ । उत्पादन गरेको खुकुरीले पनि मेहनतअनुसार मूल्य पाउन नसक्दा मानिसको यस पेसाप्रति रुचि घट्दै गएको उनले बताए। राज्यका तर्फबाट यसको विकास तथा संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

दिनानुदिन कालिगड पेसा छाड्नेको सङ्ख्या बढ्न थालेपछि प्रोत्साहनका कार्यक्रमलाई अघि बढाएको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए। ‘पछिल्लो समय वडामा भएका कालिगड पलायन हुँदै गएको अवस्था छ। अहिले हामी यो पेसाको संरक्षणमा जुटेका छौँ। गत वर्ष यहाँका कालिगडहरूलाई रु एक लाख बराबरको सहयोग गरेका छौँ,’ उनले भने।

भोजपुरे खुकुरीले नाम कमाएको जिल्लामा कालिगड पेसा सङ्कटमा पर्दै गएपछि संरक्षणमा जुटेको उनको भनाइ छ । पेसामा लागेकालाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको वडा अध्यक्ष नेपालको भनाइ छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img