Tuesday, December 3, 2024
देशकोशी प्रदेशधनकुटाको ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाले लागू गर्‍यो नयाँ नियम

धनकुटाको ट्राफिक व्यवस्थापनका लागि नगरपालिकाले लागू गर्‍यो नयाँ नियम

धनकुटा: ट्राफिक व्यवस्थापनका लागि धनकुटा बजारमा मंगलबारबाट नयाँ नियम लागू गरिएको छ । बजारमा बढ्दै गएको सवारी चाप व्यवस्थापनका लागि नगरपालिकाले पार्किङ, अटो स्टेण्ड, यात्रु चढाउने/ओराल्ने र सामान लोड/अनलोड सम्बन्धी नयाँ नियम लागू गरेको हो । नयाँ नियमअनुसार मदनचोकदेखि भीमनारायण चोकसम्म दोहोरो पार्किङ निषेध गरिएको छ ।

दुई पाङ्ग्रे सवारी साधनलाई बारको आधारमा एकोहोरो पार्किङको व्यवस्था गरिएको छ । आइतबार, मंगलबार र बिहीबार सडकको पूर्वतर्फ र सोमबार, बुधबार र शुक्रबार पश्चिमतर्फ पार्किङ गर्ने नियम बनाइएको छ । अटोसहितका तीनपाङ्ग्रे सवारी साधनले बजारका जुनसुकै क्षेत्रमा रहेर यात्रु कुर्न गर्न नपाउने भएका छन् ।

उनीहरूको पार्किङ क्षेत्र त्रिवेणी चोक, परिचयमोड र बसपार्कलाई तोकिएको छ । साना चारपाङ्ग्रे सवारी साधनले बजारमा यात्रु चढाउन र ओराल्न मात्र पाउनेछन् । सामान लोड/अनलोडको पनि समय निर्धारण गरिएको छ । मालबाहक साधनले बिहान ९ देखि १०ः३० र बेलुका ३ः३० देखि ५ः३० बजे बाहेकको समयमा मात्र सामान लोड/अनलोड गर्न पाउनेछन् ।

धनकुटा बजारमा यसअघि ट्राफिक व्यवस्थापनको बेग्लै नियम थिएन । बजार क्षेत्रमा साँघुरो सडक र बढ्दै गएको सवारी चापका कारण सवारी आवतजावतमा समस्या देखिन थालेपछि व्यवस्थापनका लागि नयाँ नियम लागू गरिएको नगर प्रमुख चिन्तन तामाङले बताए ।

नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर सवारी व्यवस्थापनको प्रयास थालेको हो ।

यसअघि प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहितको टोलीले ट्राफिक व्यवस्थापनका लागि बजारको स्थलगत अनुगमन गरेको थियो । नियम कार्यान्वयनका लागि अहिले बजार क्षेत्रमा नगर प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली परिचालन गरिएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img