मोरङ: मोरङको सुन्दरहरैँचा नगरपालिका- ६ स्थित गछिया खोलामा एक जना वृद्ध पुरुषको शव फेला परेको छ । भोजपुर नगरपालिका- २ घर भई सुन्दरहरैँचा- ६ मा बस्दै आएका ६४ वर्षीय टेकबहादुर गुरुङ खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन्।
गुरुङ सब्जी लिन भनेर बिहीबार गछिया बजार गएको खुलेको मोरङ प्रहरीमा प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए । बजारबाट घर नफर्किएपछि प्रहरीलाई जानकारी गराएर आफन्तले खोजी थालेका थिए । खोजी गर्ने क्रममा खोलामा डुबेर मृत्यु भएको अवस्थामा बिहान ८ बजेतिर शव फेला परेको थियोे । सब्जी लिएर घर फर्किने क्रममा चिप्लिएर खोलामा डुबेका वृद्धको त्यही मृत्यु भएको हुन सक्ने प्रहरीलेको प्रारम्भिक अनुमान छ ।
शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएर घटनाको अनुसन्धान सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।