समाजजब योगेशको पार्थिव शरीरसामु गुञ्जियो ‘सपना भुलाई सारा...’

जब योगेशको पार्थिव शरीरसामु गुञ्जियो ‘सपना भुलाई सारा…’

सपना भुलाई सारा आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ

छन् प्रेममा निशाना दिलमा मेटाई जाऊ
एक लाशको चितामा बत्ती निभाई जाऊ

माथि उल्लेखित कालजायी गीतका गायक योगेश वैद्य आजदेखि भौतिक रुपमा हामीबाट बिदा भए। बिहीबार मध्यराति ७७ वर्षको उमेरमा उनले अन्तिम सास फेरे। र, गीतको अन्तिम अन्तराझैँ वैद्यको भौतिक शरीर चितामा जलेर खरानी भइसकेको छ।

‘सपना भुलाई सारा…’ बोलको गीतबाट योगेशले निकै चर्चा पाए। शिव अधिकारीको शब्द र नातिकाजीले संगीत भरेको यो गीत वि.सं. २०४२ मा रेकर्ड गरिएको थियो।

जुन आजका पनि दर्शक-श्रोतामाझ उत्तिकै चर्चित छ। त्यसैले त वैद्यको प्रार्थिव शरिरअगाडि यही गीत गाउँदै उनका दौँतरीसहितका गीत/संगीतकर्मीहरुले ट्रिब्युट दिए।

वि.सं २००३ साल असारमा काठमाडौंको नरदेवीमा जन्मेका वैद्यलाई सानैदेखि गीत-संगीतमा लगाव थियो। आमा रुक्मिणी नेवारी भाषाको सरस्वती बन्दना निकै गुन्गुनाउँथिन्। आमाको त्यही बन्दना सुनेर हुर्केका वैद्यमा संगीत मोह बढ्दै गयो।

सुरुमा आमाकै सिको गरेर सरस्वती बन्दना गुन्गुनाउने योगेश विस्तारै टोल र विद्यालयका कार्यक्रममा सहभागी हुन थाले। २०१४ सालअघि युगकवि सिद्धिचरण श्रेष्ठले लेखेको ‘प्रार्थना गीत’ गाउने जिम्मा योगेशकै पोल्टामा थियो।

२०१४ ताका। चीनका नेता चाउ एन लाई नेपाल आएका थिए। त्यहीक्रममा चाउ शान्ति निकुञ्ज विद्यालयको अवलोकन गर्न पुगे। त्यतिबेला उनलाई स्वागतमा एक स्वागत गीत तयार पारिएको थियो। त्यो सामूहिक गान भए पनि मुख्य आवाज योगेशकै थियो।

२०२२ मा स्वर परीक्षा दिएपछि वैद्य रेडियो नेपालमा भित्रिए। उनले पहिलो पटक नेवारी गीत गाएर सांगीतिक करिअर सुरु गरे। नेवारी भाषको रेडियो कार्यक्रम ‘जीवन दवु’ मा उनको पहिलो नेवारी गीत रेकर्ड भएको थियो। जुन कार्यक्रममा उनले एक दर्जन भन्दाबढी गीत गाए।

त्यसपछि उनले किरण खरेको शब्द र नातिकाजीले संगीत भरेको नेपाली गीत गाए। जुन गीत थियो :

कति प्यासी छ जिन्दगी
विधवाको सिउँदो जस्तो…

यो गीतसँगै संगीत जगतमा वैद्यको चर्चा हुन थाल्यो। तर, बीएससी सकाएपछि उनले पढाईमा ध्यान दिन थाले। एमएससी सकेपछि सरकारी जागिरे बने। केन्द्रीय खाद्य अनुसन्धान कार्यालयमा पोषण अधिकृत बनेका उनले संगीतलाई छोड्न सकेनन्। ‘कति प्यासी छ जिन्दगी’ गीतलाई पुन: रेकर्ड गरे। कार्यालय नजिकै भएकाले उनी फुर्सद मिल्दा रेडियो नेपाल पुग्थे। र, अवसर मिल्दा गीत गाउँथे।

रेडियो नेपालमै पहिलोपटक योगेशसँग भेटेको बताउँछन् उनीनिकट गायक-संगीतकार शम्भुजीत बास्कोटा। २०३२/३३ मा रेडियो नेपालस्थित नातिकाजीको कक्षमा भेट भएको सम्झन्छन् उनी।

२०२८ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेका शम्भुजीत सुगम संगीतका गीतहरू रेकर्ड गर्थे। उनका गीत सुनेर सुगम संगीतमा राम्रो गरेको प्रतिक्रिया दिन्थे योगेश।

‘रेडियो नेपालमै हाम्रो पहिलो भेट भएको हो। नातिकाजीको कार्यकक्षमा चिनजान भयो। त्यतिखेर म सुगम संगीतका गीतहरू गाउँथे। मेरा गीतहरू सुनेपछि सुगममा राम्रो गरिरहनु भएको छ भन्नुहुन्थ्यो। उहाँ सुमधुर बोल्नुहुन्थ्यो,’ उनले सुनाए।

नातिकाजी श्रेष्ठसहित बच्चु कैलाश, प्रेमध्वज प्रधान र शिवशंकर योगेशका मनपर्ने गायक थिए। उनलाई भारतीय गायक मोहम्द रफीका गीत पनि निकै मन पर्ने सुनाउँछन् बास्कोटा। योगेशले मविवि शाहको शब्दमा ‘नेपाल मेरो तिमीलाई… गीतसमेत गाएका थिए।

लामो समय चिनजान भए पनि ५० को दशकमा योगेशसँग सहकार्य भएको सम्झन्छन् बास्कोटा। उन्नति बोहरा (शिला) को शब्द रहेको ‘लामो जीवनमा, किन म हतास हतास छु’ गाएको उनले सुनाए।

त्यसपछि उन्नतिकै शब्द रहेको राष्ट्र प्रेमसम्बन्धी गीत ‘झण्डा झण्डा’ मा पनि उनीहरुले एकसाथ काम गरे। जसमा वैद्यसहित प्रेमध्वज प्रधान, मीरा राणा र बिमला राईको स्वर थियो। आफूहरुले थुप्रै चलचित्रका गीतमासमेत सहकार्य गरेको उनले सम्झिए।

उनका अनुसार वैद्य जस्तोसुकै गीत गाउन सक्ने क्षमताका थिए। कुशल गायकका साथै गीतकार र कवि पनि हुन्। वैद्यले नेवारी गीत गाउनुका साथै थुप्रै कवितासमेत लेखेका छन्। नातिकाजीका प्रिय गायकसमेत रहेका योगेश नातिकाजी स्मृति समाजका संस्थापक सल्लाहकार पनि थिए।

‘उहाँजस्तो जुनसुकै विधाको पनि गीत गाउन सक्ने मान्छे हो। तर, पनि उहाँलाई सुगम संगीतप्रति अथाह प्रेम थियो। संगीतक्षेत्रको विकृतिप्रति निकै चिन्तित हुनुहुन्थ्यो। नेपाली गीतको मौलिकतालाई संसारभर फैलाउनुपर्छ भन्नुहुन्थ्यो। उहाँले नेपालीसहित नेपाल भाषाका अनेक गीत गाएर योगदान दिनु भएको छ।’

विभिन्न कार्यक्रममा सँगै गएको सुनाउँदै वैद्यसँग आफ्नो पारिवारिक जस्तै सम्बन्ध रहेको उनले बताए। तीन चार दिनअघि मात्रै शम्भुजितको योगेश वैद्यसँग फोनमा कुराकानी भएको थियो।

‘तीनचार दिनअघि मात्रै दाइसँग कुरा भएको थियो। उहाँले सञ्चो भएन। खुट्टाले दु:ख दिइरहेको छ भन्नुभएको थियो। दाइ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो। उहाँले एकपटक मिर्गौला प्रत्यारोपण गरिसक्नुभएको थियो,’ उनले भने, ‘दाइसँग संगीतबारे पनि गफ भएको थियो। नेपाली संगीत कहाँबाट कहाँ पुग्यो, यसलाई कसरी संरक्षण गर्ने होला? भनेर उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो। रोयल्टीमा पनि उहाँ श्रष्टाको भ्यालुनै भएन भन्नुहुन्थ्यो,’

वैद्य निकै साधना गर्ने गायक भएको सुनाउँछन् संगीतकार वसन्त सापकोटा। ‘धेरै बाहिर आउन नचाहने, अन्तरमुखी स्वभावको हुनुहुन्थ्यो। उहाँका धेरै सिर्जना छैनन्। जति छन् अब्बल छन्। उहाँ छ-सात महिना लगाएर गीत तयार गर्नुहुन्थ्यो। चित्त नबुझुन्जेल १५ पटक रेकर्ड गर्नुहुन्थ्यो भन्ने सुनेको। साधना र मिहिनत गर्ने स्रष्टा हो उहाँ’ , सापकोटाले सुनाए।

अहिलेको भाइरल जमनामा योगेशबाट धेरै कुरा सिक्नुपर्ने सुनाउँछन् उनी। ‘अहिले भाइरलको जमानामा गायक कस्तो हुनुपर्छ। समाजलाई कसरी लैजानुपर्छ भन्ने उहाँबाट सिक्नुपर्छ। अहिलको पुस्ताले उहाँबाट सिक्ने धेरै कुरा छन्। पहिलो त भाइरल हुन छाडेर धैर्यसाथ हिडौँ। साधना गरौँ, अनि गायनमा निखारता आउँछ’, सापकोटाले भने।

विभिन्न कार्यक्रममा जाँदा भेटघाट भए पनि सहकार्य हुन नसकेकोमा दुखेसो पोख्छन् उनी। साथै १२/१३ वर्षमै एसएलसी दिएका योगेश पढाईमा पनि निकै अब्बल थिए। -नेपालखबरबाट

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img