बागमती प्रदेशमकवानपुरसामुदायिक वनमा बोराभित्र महिलाको शव फेला

सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकको सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

शुक्रबार दिउँसो करिब १ बजेर ५० मिनेटमा स्थानीयवासी च्याउ टिप्न वन क्षेत्रमा जाने क्रममा सेतो बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको जानकारीपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोलीसमेत परिचालन गरिएको थियो।

घटनास्थलको सूक्ष्म अनुसन्धानका लागि डग स्क्वाड (प्रहरी कुकुर) र एसओसीओ टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बोराभित्र अन्दाजी ३० देखि ३२ वर्ष उमेरकी महिलाको शव फेला परेको हो। मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन।

घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको छ। महिलाको मृत्युको कारण, शव उक्त स्थानमा कसरी पुग्यो तथा घटनामा संलग्न हुन सक्ने व्यक्तिको पहिचानका लागि विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img