भोजपुर- जिल्ला अस्पताल परिसरमा निर्माण भएको नर्सिङ भवन हस्तान्तरण गरिएको छ । निर्माण ब्यवसायी मार्फत बनेको ८ परिवारका लागि बस्न मिल्ने भवन जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका आयोजना प्रमुख सुमनकुमार मिश्रले जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल थुलुङ राईलाई सम्झौता पत्र सहित भवन हस्तान्तरण गरेका हुन् ।
निर्माण कार्य पुरा भएसँगै नर्सिङ आवास भवन सघन सहरी तथा भवन निर्माण आयोजनाले जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ । ठेक्का सम्झौता अनुसार भवन ब्राइट वुल÷युडी जेभीले निर्माण गरेको थियो ।
भवन निर्माणको काम २०७८ भदौदेखि सुरु गरिएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याट बाहेकको दुई करोड ८५ लाख ८४ हजार सात सय २२ रुपैया बरावरको लागतमा भवन निर्माण सकिएको छ ।
बिभिन्न समस्याका कारण भवन निर्माणका लागि ९ महिना म्याद थप गरिएको भए पनि स्टेमेट अनुसार नै भवन निर्माण भएको युडि विल्डर्स निर्माण कम्पनीका प्रोपाइटर उत्तम खड्काले बताए । भवन अभावमा सेवा समेत प्रभावित भई रहेको अवस्थामा नयाँ आवासले नर्सिङ स्वास्थ्यकर्मीहरुलाई बसोवासमा सहजता भएको जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर शिवजी रिजालले बताए ।
अस्पतालको सेवा प्रभावहरुलाई प्रभावकारी बनाउन भवन निर्माण आवश्यक देखिएको अस्थामा भवन समेत हस्तान्तरण हुनु खुशीको कुरा भएको जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल बिकास समितिका अध्यक्ष राईको भनाई थियो ।



