इटहरी | धनकुटाको भेडेटारमा निर्माण भएको स्काईवाक सञ्चालनमा आएको छ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई र धरान उपमहानगरका मेयर हर्क साङ्पाङले सामूहिक रुपमा रिवन काटेर स्काइवाकको उद्घाटन गरेका छन् ।
एक पटकमा दुईसय जना हिँड्न सकिने ५० मिटर लम्बाइ रहेको रहेको छ । चार वर्ष पहिले सम्झौता भई निर्माण थालिएको स्काईवाकको उचाइ भने १ सय, चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको छ ।
करिब २० करोड लगानीमा स्काइवाक निर्माण गरिएको जनाइएको छ । प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले स्काइवाक निर्माण गरेको हो ।
वोन्डर्सअम्युज्मेण्ट पार्कस एण्ड अट्राक्सन्स प्रालि र कम्पनीका सीइओ आकर्षण पोखरेल लगायतको टीमलाई मुख्यमन्त्री कार्कीले समेत बधाई दिएका थिए ।
कार्यक्रममा बोल्दै उनीले प्रदेश सरकारले चांडै कोशी प्रदेशमा लगानी सम्मेलन गर्ने र २०८२ मा प्रदेशलाई पर्यटन वर्षको रुपमा मनाउने बताएका थिए । साथै प्रदेशमा पर्यटन प्रवर्धनका लागि छिट्टै चिया महोत्सव पनि गर्ने बताए ।
भेडेटारस्थित चार्ल्स प्वाइन्टमा यसअघि निर्माण गरिएको टावर विस्थापित गरेर सोही स्थानमा स्काइवाक निर्माण गरिएको हो । भेडेटारमा पूर्वी तराईसहित विभिन्न स्थानबाट पर्यटकहरू घुम्न आउने गर्छन् । भारतबाट पनि पर्यटकहरू आउने गरेका छन् । खासगरी गर्मी मौसममा आगन्तुकहरुको भीड लाग्ने गरेको छ ।
चिसो मौसम हुने भएकाले यहाँ आउने पर्यटकहरुको संख्या उल्लेख्य हुने गरेको छ । स्काइवाक टावरको निर्माणपछि आगन्तुकहरुको सङ्ख्या अझ बढ्ने अपेक्षा यहाँका पर्यटन व्यववसायीहरूले गरेका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकको लागि हब नै मानिने भेडेटारलाई थप आकर्षक बनाउने लक्ष्यले स्काइ वाक निर्माण गरिएको हो । जहाँ एक पटकमा दुई सय जना हिँड्न सक्ने बताइएको छ । स्काइवाकको उचाइ एक सयदेखि ५ सय मिटरसम्म र चौडाइ ४ मिटर छ । घुम्तीमा १० मिटर रहने स्काइवाक धरानतर्फ ३९ मिटर लामो छ ।
भेडेटारमा निर्माण भएको यो स्काइ वाक दक्षिण एसियाकै साहसिक पर्यटकीय परियोजना हुने र भेडेटारको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।