विराटनगर | नेपाली हिन्दु धर्मावलम्बीको प्रमुख चाडपर्वका रूपमा दसैं, तिहार र छठलाई मनाउने क्रममा यस वर्ष कोशी प्रदेशमा १ सय ५१ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकले देखाएको छ। प्रदेशभरिका २ सय ९३ आपराधिक घटनामध्ये आत्महत्या सबैभन्दा बढी रहेको प्रहरी कार्यालय, विराटनगरका सूचना अधिकारी डीएसपी ध्रुव श्रेष्ठले बताए।
डीएसपी श्रेष्ठका अनुसार, आत्महत्या गर्नेको संख्या गत वर्षको तुलनामा घटेको छ। गत वर्ष १ सय ७१ जनाले आत्महत्या गरेका थिए। यसपटक आत्महत्यासँगै लागुऔषध दुर्व्यसन, बलात्कार, चोरी, जुवा तास, हत्या र लुटपाटलगायतका विविध घटनाले प्रहरीको ध्यान आकर्षित गर्यो।
लागुऔषध दुर्व्यसन र जुवा तासमा सक्रियता
चाडपर्वका बेला प्रहरीले लागुऔषध दुव्यर्सनीको ५२ घटना, बलात्कारका ३९, चोरीका २६, जुवा तासका १७, हत्याका ५, र लुटपाटका २ घटना रेकर्ड गरेको छ। प्रहरीका अनुसार, १ सय ५४ जनालाई जुवा तास खेल्ने क्रममा र ६० जनालाई लागुऔषधसहित पक्राउ गरिएको छ। बलात्कारमा संलग्न ३३ र हत्याका लागि ७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ।
यसपटक प्रहरीले जुवा र तासका खालबाट ३७ लाख ८९ हजार ६ सय ३० रूपैयाँ नगद बरामद गरेको छ। चोरी र लुटपाटमा संलग्न भने पक्राउ गर्न नसकेको प्रहरीको भनाइ छ।
सवारी दुर्घटनाका कारण ३९ जनाको ज्यान
चाडपर्वको अवधिमा सवारी दुर्घटना पनि ठूलो चिन्ताको विषय बन्यो। विभिन्न ठाउँमा भएका दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका छन् भने ९३ जना घाइते भएका छन्।
अपराधको कमी, सुरक्षा योजना प्रभावकारी
यस वर्ष कोशी प्रदेशमा सुरक्षाका लागि विशेष योजना लागू गरिएको थियो। असोज १७ देखि कात्तिक २२ गतेसम्मलाई चाडपर्व अवधिको रूपमा लिँदै प्रहरी प्रशासनले विभिन्न रणनीतिहरू कार्यान्वयन गर्यो। सुरक्षामा भएको यो सक्रियताका कारण ठूला सामूहिक अपराधका घटना भने निकै कम देखियो।
प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले यसवर्ष चाडपर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सुरक्षा प्रयासको महत्त्व रहेको बताए।