Wednesday, January 15, 2025
देशकोशी प्रदेशभोजपुरको चखेवामा माघ १ देखि पर्यटन कृषि मेला

भोजपुरको चखेवामा माघ १ देखि पर्यटन कृषि मेला

कोशी | खोटाङ र संखुवासभाको संगमस्थल चखेवा डाँडामा यहीँ माघ १ गतेदेखि ५ गतेसम्म बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना हुने भएको छ। टेम्केमैयुङ गाउँपालिका–४, नागीमा हुने यस मेलाले ‘मुन्धुम ट्रेल भ्रमण वर्ष–२०२५’ लाई लक्षित गर्दै मुन्धुम पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ। मेलाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गर्ने कार्यक्रम तय भएको छ।

टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार, मेलाले मुन्धुम पदमार्गको प्रचारप्रसार गर्दै स्थानीय कृषिउपजको प्रयोग र पर्यटन प्रवर्द्धनमार्फत् स्थानीयवासीको आयस्तर वृद्धि गर्न सहयोग पुर्‍याउनेछ। मेलामा कृषि प्रदर्शनी, सांस्कृतिक प्रस्तुति, र मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिनेछन्। स्थानीय तथा राष्ट्रिय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिनेछन्, भने मेलामा स्थानीय बस्तुकला, खाद्यपदार्थ, र कृषि उत्पादनहरूलाई विशेष प्राथमिकता दिइनेछ।

टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णबहादुर राईका अनुसार, मेलाको दौरान मुन्धुम पदमार्गको प्रवर्द्धन र दिगो विकासका लागि साझा अवधारणापत्र सार्वजनिक गरी हस्ताक्षरसमेत गरिनेछ।

१ लाख पर्यटक भित्र्याउने लक्ष्य

टेम्केमैयुङ गाउँपालिकाले २०२५ लाई भ्रमण वर्ष घोषणा गर्दै १ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले स्थानीय बस्तुकला, सूचना बोर्ड, खानेपानी, शौचालय, र अन्य संरचनाहरू निर्माणमा प्राथमिकता दिइने बताए।

गाउँपालिकाकी उपाध्यक्ष रमा देवी राईका अनुसार, मुन्धुम पदमार्गमा आउने पर्यटकलाई आवश्यक जानकारी दिन चखेवामा निर्माण भइरहेको पर्यटन सूचना केन्द्रको काम अन्तिम चरणमा पुगेको छ। सूचना केन्द्रले पर्यटकहरूलाई मार्गनिर्देशन, जानकारी, र सेवा सुविधा प्रदान गर्नेछ।

नेपाल सरकारले २०७५ कात्तिकमा घोषणा गरेको  एक सय पर्यटकीय गन्तव्यमध्ये पर्ने मुन्धुम पदमार्ग भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभाको सीमाक्षेत्रमा अवस्थित छ। पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेसहित ८ हजार मिटर अग्ला हिमालहरूको मनोरम दृश्य देख्न सकिन्छ । यस क्षेत्रमा विविध धार्मिक-सांस्कृतिक कार्यक्रम र मनोरञ्जनात्मक मेला पनि लाग्ने गरेका छन्।  पदमार्गको थप विकासका लागि टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश, र संघ सरकारको १ करोड ९० लाख ५० हजार लगानी रहेको छ। स्वीस सरकारसहित तीन तहका सरकारहरूले यस क्षेत्रको दिगो विकासमा सहकार्य गरिरहेका छन्।

“मुन्धुम ट्रेल भ्रमण वर्ष २०२५” घोषणाको मुख्य उद्देश्य पदमार्गलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु हो । प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, र पैदलयात्राको उत्कृष्ट सम्भावनाले भरिपूर्ण यो क्षेत्रले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने लक्ष्य राखेको छ।

पछिल्लो पटक कात्तिक ४ गते चखेवाबाट सुरू भई कात्तिक ९ गते समापन भएको मुन्धुम ट्रेल पदयात्रामा पर्यटन पत्रकार र जनप्रतिनिधि सहितको ३५ जनाको टोलीले सहभागिता जनाएको थियो।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img