कोशी | भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ नागीदेखि खावा, कोट गोगने हुँदै लेखर्कसम्म जोड्ने सडक कालोपत्रे गर्ने काम औपचारिक रूपमा सुरू भएको छ। गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बिहीबार उक्त सडकको शिलान्यास गरेका हुन्।
२ करोड ६१ लाख ७१ हजार ६ सय ३१ रुपैयाँ लागतमा निर्माण हुन लागेको यो सडक मार्सेली—सीप्तुङ लाईट जे.भी. निर्माण कम्पनीले बनाउने जिम्मा पाएको छ। कोशी प्रदेशको इटहरीस्थित स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयबाट बजेट विनियोजन गरिएको यो योजनाअन्तर्गत डेड किलोमिटर सडकमा ग्याभिन जाली, आरसीसी ढलान, ड्रेन वाल, र कालोपत्रे गर्ने कार्य हुनेछ। निर्माण कार्य चालु आर्थिक वर्षको अन्त्य (असार मसान्त) भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
निर्माण कम्पनीका ठेकेदार श्याम श्रेठले समयमै गुणस्तरीय काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। सडक कालोपत्रे भएपछि नागी, खावा, कोट गोगने, र लेखर्कका कृषकहरूलाई आफ्ना उत्पादन बजारसम्म पुर्याउन सहज हुनेछ। यसले ढुवानी लागत घटाउने मात्र होइन, स्थानीय व्यापार तथा कृषि व्यवसायलाई समेत प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
यस विकासले गाउँपालिकाको यातायात तथा स्थानीय पूर्वाधारमा सुधार ल्याउनेछ भने ग्रामीण बासिन्दाको दैनन्दिन जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।