कोशी | सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरामा अव्यवस्थित रूपमा रहेका इन्टरनेट तथा टेलिभिजनका केवल तार हटाउन वा व्यवस्थापन गर्न १० दिने समयसीमा तोकिएको छ।
वडाध्यक्ष मणिराम श्रेष्ठले बुधबार सूचना जारी गर्दै सम्बन्धित इन्टरनेट सेवा प्रदायक तथा केवल सञ्चालकहरूलाई तोकिएको मितिभित्र तार व्यवस्थापन गर्न निर्देशन दिएका छन्। पटकपटक जानकारी गराउँदा पनि तारहरू अव्यवस्थित रूपमा झुन्ड्याइएकाले दुर्घटनाको जोखिम बढ्दै गएको उनले बताएका छन्।
नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमका पोलहरूमा जथाभावी तार झुन्ड्याइनुले नगरको सौन्दर्यमा असर पार्नुका साथै पटकपटक दुर्घटनाको स्थिति सिर्जना भएको सूचनामा उल्लेख छ।
समयसीमाभित्र तार नहटाए नगरपालिकाले कारबाही गर्ने
वडाध्यक्ष श्रेष्ठका अनुसार, ‘यो सूचना जारी भएको १० दिनभित्र सम्बन्धित कम्पनीहरूले वडा कार्यालयमा सम्पर्क गरी तार व्यवस्थापन गर्नुपर्छ। अन्यथा, उपमहानगरपालिका आफैं तार हटाउनेछ र प्रचलित कानुनअनुसार कारबाही अघि बढाइनेछ।’
वडा सदस्य तनजु गुरुङ (सुरेश)का अनुसार, सम्बन्धित सेवा प्रदायकहरूलाई पटक–पटक अनुरोध गरिए पनि अटेर गर्दै आएका छन्।
‘तार भुइँमा लत्रिएर दुर्घटनाको जोखिम बढेको छ। यदि समयमा नै व्यवस्थापन भएन भने उपमहानगरपालिका कार्यालयसँग समन्वय गरेर तार हटाउने कार्य अघि बढाइनेछ,’ गुरुङले भने।