Monday, April 28, 2025
देशकोशी प्रदेशलिम्बू संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित हुदै चोत्लुङ पार्क
spot_img

लिम्बू संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित हुदै चोत्लुङ पार्क

तेह्रथुम | तेह्रथुमको वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ लिम्बू संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भइरहेको छ। प्रकृति, संस्कृति र इतिहासको संगमका रूपमा चोत्लुङ पार्कले परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढुङ्गाले बिछ्याइएका फलैँचा र बिसौनीमार्फत लिम्बू संस्कृति झल्काउँछ। पार्क पुग्ने जो कोहीलाई मुन्धुमी सभ्यताको झल्को दिनेगरी अग्ला ढुङ्गा गाडिएका छन्, जसका फेदमा दुबो रोपिएको देख्न सकिन्छ।

पार्कको भौतिक बनावट मात्र नभई सांस्कृतिक र ऐतिहासिक महत्त्वले समेत यसलाई विशेष बनाएको छ। इलामका पर्यटक चञ्चल लिम्बूले भने, “मैले युट्युब र फेसबुकमा चोत्लुङ पार्क देखेर यहाँ घुम्न आएँ।” धरानबाट आएकी चन्द्रा लिम्बूले आफ्नी छोरीको स्वास्थ्य लाभको लागि पूजा गर्न चोत्लुङ पुगेको बताइन्। लालीगुराँस नगरपालिकाले यहाँ एक जना पुजारीसमेत नियुक्त गरेको छ, जसले चोत्लुङको पवित्र वातावरणलाई थप प्रभावकारी बनाएको छ।

पार्कभित्र अवस्थित युमा सङ्ग्रहालय चोत्लुङको अर्को आकर्षण हो। यहाँ गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बूवानबीच भएका विभिन्न सन्धि, सम्झौता तथा ऐतिहासिक कागजातहरू सङ्ग्रहित छन्। साथै, लिम्बू समुदायसँग सम्बन्धित पुराना गरगहना, वेशभूषा, हातहतियार, परम्परागत घरेलु उपकरण, वास्तुकला, सिक्का लगायतका सामग्रीहरू सङ्ग्रहालयमा सुरक्षित छन्। किरात याक्थुङ चुम्लुङका सचिव राजकुमार तेयुङका अनुसार, “यी सङ्ग्रहित सामग्रीहरू लिम्बू इतिहास र संस्कृतिसम्बन्धी अनुसन्धान गर्नेहरूका लागि निकै उपयोगी छन्।”

‘चोत्लुङ’ शब्दको याक्थुङ भाषामा अर्थ ‘सिद्धि’ र ‘पूर्णता’ भन्ने हुन्छ। मुन्धुमअनुसार जीवनमा एकपटक चोत्लुङ पुग्नैपर्ने मान्यता रहेको बलदेव तुम्बाहाम्फे बताउँछन्। त्यसैले पनि धार्मिक र सांस्कृतिक रूपमा चोत्लुङ पार्कको विशेष महत्त्व छ।

वि.सं. २०७४ देखि निर्माण सुरु गरिएको चोत्लुङ पार्क अहिले १०० रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको छ। लालीगुराँस नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काका अनुसार, पार्क निर्माणमा प्रदेश सरकार, लालीगुराँस नगरपालिका, नयाँ सहर आयोजनाको कार्यालय वसन्तपुर तथा अन्य विभिन्न निकायको सहयोग रहेको छ। हालसम्म पार्क निर्माणमा दुई करोडभन्दा बढी खर्च भइसकेको छ।

चोत्लुङ पार्क आन्तरिक मात्र नभई विदेशी पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ। प्रवक्ता खड्काका अनुसार, सिक्किम, दार्जिलिङ, बेलायत, अफ्रिका, चीन लगायत विभिन्न मुलुकका पर्यटकहरूले यहाँ भ्रमण गर्ने गरेका छन्। पार्क अवलोकनका लागि पर्यटकबाट ५० रुपैयाँ र सङ्ग्रहालय अवलोकनका लागि १०० रुपैयाँ शुल्क लिइन्छ। गएको वर्ष मात्र पर्यटकबाट १४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।

यसैबीच, कोशी प्रदेश सरकारले तेनजुरे क्षेत्रलाई पर्यटन प्रवर्द्धनका लागि आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’का रूपमा घोषणा गरिसकेको छ। यसले चोत्लुङ पार्कको प्रचार-प्रसारलाई थप बल दिने विश्वास गरिएको छ। चोत्लुङ पार्कको विकासले लिम्बू संस्कृति, इतिहास तथा पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img