Sunday, April 27, 2025
समाजलाखको जागिर त्यागे, करोडौँको मालिक बने
spot_img

लाखको जागिर त्यागे, करोडौँको मालिक बने

चित्लाङको माटोमा सफलताको बीज: दुई रिसोर्ट र ५० जनालाई रोजगारी दिने उद्यमीको कथा

हेटौँडा | चित्लाङ, मकवानपुरको सुन्दर गाउँ, जहाँ देवेन्द्र नेपालको संघर्षपूर्ण यात्रा सुरु भयो। जागिर खोज्दै विदेशसम्म पुगेका उनी अहिले १५ करोडको पर्यटन व्यवसाय संचालन गर्दैछन्। उनले दुईवटा रिसोर्ट सञ्चालनमा ल्याएका छन् र ५० भन्दा बढीलाई रोजगारी दिएका छन्। उनको सफलता धैर्य, दृढ संकल्प, र दूरदृष्टिको उत्कृष्ट उदाहरण हो।

चित्लाङमै जन्मेका देवेन्द्र नेपालले २०५२ सालमा एसएलसी परीक्षा पास गरे। अधिकांश युवाहरू झैं, उनले पनि राम्रो शिक्षा लिएर राम्रो जागिर खाने सपना देखेका थिए। उनले पर्यटन अध्ययनमा स्नातकोत्तर गरे, जसले उज्ज्वल भविष्यको ढोका खोल्ने विश्वास थियो।

पढाइकै क्रममा उनले कलेजमा पढाउने अवसर पाए, साथै ट्राभल एजेन्सीमा पनि काम गर्न थाले। तर बिहान ६ बजे देखि बेलुकी ६ बजेसम्म १२ घण्टा काम गर्दा पनि उनले सन्तुष्टि महसुस गरेनन्।

“म ठूलो सपना देख्थें, तर जागिरले त्यो सपना पूरा गरिरहेको थिएन,” उनी सम्झन्छन्।

त्यसैले, २०६४ मा उनी दुवई जाने निर्णय गरे। उनले ट्राभल कन्सल्टेन्टको रूपमा जागिर पाए, जुन महिनाको एक लाख रुपैयाँको थियो। तर, दुवई पुगेपछि उनले एउटा गहिरो अनुभूति गरे—जहाँ स्रोत-साधन कम छ, त्यहाँका मानिसहरूले धेरै प्रगति गरेका छन्, तर नेपालमा अपार सम्भावना हुँदाहुँदै पनि हामी पछि परेका छौं।

यो सोचले उनलाई निरन्तर सताइरह्यो। पैसा राम्रो थियो, तर आत्मसन्तुष्टि थिएन। अन्ततः, पुगेको केही दिनमै उनले सुरक्षित जागिर त्यागेर नेपाल फर्कने निर्णय गरे।

 कम्पनीले एक महिनाको तलब र फर्कने टिकट दियो। तर तीन महिनामै बचत सकियो। “आर्थिक तनाव बढ्दै जाँदा उनी डिप्रेसनमा जान थाकेको थिए”, उनले सम्झिए ।

नेपाल फर्किएपछि के गर्ने भन्ने निश्चित थिएन। उनी एक महिनासम्म शय्याशायी भए। त्यसपछि, एकदिन उनको साथीले ३० जना विद्यार्थीहरूको समूह घुमाउन लैजान अनुरोध गरे। उनले तत्कालै अवसर देखे।

उनले चित्लाङ घुमाउने योजना बनाए, ठमेलबाट टेन्ट भाडामा लिए, र खानपानको व्यवस्था गरे। टुर सफल भयो, र विद्यार्थीहरूले उत्कृष्ट अनुभव पाए। सकारात्मक प्रतिक्रियाले उनलाई पर्यटन क्षेत्रमा नै करियर बनाउने आत्मविश्वास दियो।

“पहिलो टुरमा ४७ हजार खर्च भयो, तर ४३ हजार कमाइ भयो। ४ हजार घाटा नै भए पनि सही दिशातिरको कदम थि”, उनी सुनाउछन् । हप्तैपिच्छे नयाँ समूह आउन थाले, र उनको नाफा ८-१० हजारबाट १५-१६ हजार पुग्न थाल्यो।

तीन वर्षको अन्तरालमा, उनले आफ्ना सेवा अझ परिस्कृत गर्दै गए। तर, २०७२ मा आएको भूकम्पले पर्यटन उद्योगलाई नराम्ररी प्रभावित गर्‍यो। पाहुनाहरू आउन छोडे, र व्यवसाय संकटमा पर्यो। तर, हार नमानी उनले आफ्ना कर्मचारीहरूसँग मिलेर हाते सिमेन्ट ब्लक उत्पादन सुरु गरे, केही दिन कोशिस गरे तर त्यो रोकियो ।

भूकम्पपछि, पर्यटन बिस्तारै पुनरुत्थान हुन थाल्यो, र उनको रिसोर्ट पहिलेभन्दा बलियो भएर अगाडि बढ्यो। अन्ततः, २०७२ मै उनले चित्लाङ अर्गानिक भिलेज रिसोर्ट स्थापना गरे।

पहिलो रिसोर्ट सफल भएपछि, देवेन्द्रले अर्को ठूलो कदम चाल्ने सोच बनाए। उनले दाजुभाई संग मिलेर चित्लाङ रिसोर्ट प्रा. लि. को स्थापना गर्न बैंक ऋण लिए। यो परियोजना सफल बनाउन उनलाई दुई वर्ष लाग्यो।

अहिले, उनका दुई रिसोर्टहरूमा ५० भन्दा बढी कोठा छन्, र ५० जनाभन्दा बढीलाई रोजगारी दिइएको छ। “मैले कुनै ठूलो लगानी बिना नै स्थानीय स्रोतहरू प्रयोग गरेर व्यवसाय सुरु गरेको हुँ,” उनी भन्छन्। प्रकृति, संस्कृति, र इतिहासको संयोजन गरी उनले पर्यटकहरूलाई आकर्षित गर्न सके।

उनले रिसोर्टमा रिसाइकल गरिएको सिसाका बोतलहरू प्रयोग गरी आकर्षक सजावट गरे, जसले वातावरणमैत्री पर्यटकहरूको ध्यान खिच्यो। वातावरणीय टिकाउपन र लक्जरीको मिश्रण उनको प्रमुख विशेषता बन्यो।

यति सफल हुँदाहुँदै पनि, देवेन्द्र आफ्नो काममा अझै पूर्ण रूपमा संलग्न छन्। “म २४ घण्टा नै काममा हुन्छु, तर म यसैमा रमाउँछु,” उनी भन्छन्।

फर्केर हेर्दा, दुवईबाट नेपाल फर्कने निर्णय उनको जीवनकै सबैभन्दा ठूलो मोड सावित भयो। उनले आफ्नो जन्मभूमिलाई पर्यटकीय गन्तव्यमा रूपान्तरण गर्दै स्थानीयहरूका लागि रोजगारका अवसर सिर्जना गरे।

उनी भन्छन्, “यदि मनमा इच्छाशक्ति छ भने, सफलता आफ्नै ठाउँमा पनि सम्भव छ।”

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img