लुम्बिनी | २५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोह–२०८२ को सम्पूर्ण तयारी पूरा भएको लुम्बिनी विकास कोषले जनाएको छ। वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा लुम्बिनीस्थित अन्तरराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा मूल समारोह उद्घाटन गरिनेछ। कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार वैशाख २८ देखि ३० गतेसम्म विशेष कार्यक्रममार्फत समारोह मनाइनेछ।
वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा महापरित्राण पाठ, वैशाख २९ गते बिहान ६ बजे प्रार्थनासभा र ७ बजे कोषको ५ नं गेटबाट विशेष शोभायात्रा सुरु हुनेछ। रामग्राम, तिलौराकोट, कुदान र देवदहमा स्थानीय तहसँगको समन्वयमा विविध कार्यक्रमहरू आयोजना गरिनेछन्। यस अवसरमा सरसफाइ, दीप प्रज्वलन, खेलकुद, आँखा शिविर, रक्तदान, शान्ति ध्यान र प्रसूति उत्सव पनि हुने कोषाध्यक्ष ढुण्डीराज भट्टराइले जानकारी दिए।
बुद्धको ज्ञानको सन्देश फैलाउने उद्देश्यले वैशाख २९ गते दीप प्रज्वलन र वैशाख ३० गते सिद्धार्थ गौतमको बाल्यकाल सम्झाउने शोभायात्रा कार्यक्रम पनि तय गरिएको छ। करिब एक करोड रुपैयाँ बजेट अनुमान गरिएको समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेसहित उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोग र विदेशी पाहुनाको उपस्थिति रहनेछ।
कोषका उपाध्यक्ष ल्यारक्याल लामाले बुद्धजयन्तीलाई विश्व शान्तिको सन्देश फैलाउने अवसरका रूपमा प्रयोग गरिने र बुद्ध दर्शनले द्वन्द्व, रोग, भोक र शोकले ग्रस्त संसारलाई समाधान दिने विश्वास व्यक्त गरे।
यस पटकको बुद्धजयन्ती समारोहले नेपाललाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रूपमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।



