उदयपुर | उदयपुरबाट विराटनगर जाँदै गरेको पिकअप गाडी दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको छ। गाईघाटबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश २–०१–००च २१५ नम्बरको पिकअप जिप आज बिहान सुनसरीको दुहबी नगरपालिका–३ स्थित फुटनी चोकमा अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किँदा उक्त घटना भएको हो।
दुर्घटनामा गाडीको अगाडिपट्टि सवार ३० वर्षीय खतिवडाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। त्रियुगा नगरपालिका–८ गैरुन स्थायी घर भएका खतिवडा कार्य विशेषले विराटनगर जाँदै थिए भनी प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी केदारमान दोङले जानकारी दिए।
सोही दुर्घटनामा चालक सुरेश कार्की (उदयपुर, चौदण्डीगढी–६) र उनकी १४ वर्षीया छोरी घाइते भएका छन्। उनीहरूको उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



