बझाङ । बझाङको मष्टा गाउँपालिकामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । १६ जना यात्रुहरू घाइते भएका छन् । घाइते १६ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
अस्पतालमा उपचाररत घाइतेमध्ये धेरै जसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने देखिएको छ ।
मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप बुधबार दिउँसो दुर्घटना भएको हो । जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।
अवस्थीका अनुसार अहिले घटनास्थलबाट घाइतेहरूको उद्धार प्रयास जारी छ । यद्यपि साँझ परेका कारण हेलिकप्टर उड्न नसक्दा उद्धार कार्य प्रभावित भएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेको प्रहरी निरीक्षक अवस्थीले बताए ।
दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेको मष्टा गाउँपालिका वडा नं १ का अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए । घाइतेमध्ये धेरै जसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।