६ चैत, काठमाडौं । नेपाल प्रहरीले आइतबार म्यादी प्रहरीमा भर्नाका लागि आवेदन खुलाएपछि टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंमा लाइन बस्न पुगिन् धादिङकी सपना गुरुङ ।
काखे छोरीसहित लाइनमा बसेकी सपना काठमाडौंको गोकर्णमा श्रीमानसँगै बस्छिन् । छोरी सानी भएका कारण हालसम्म घरमै बस्दै आएकी उनी म्यादी प्रहरीमा भर्ना खुलेपछि भने आवेदन दिन आइन् ।
म्यादी प्रहरीमा छनोट हुन सकेमा केही पैसा कमाइ हुने भएकाले आवेदन दिन आएको सपना बताउँछिन् । उनको श्रीमान फर्निचर उद्योगमा काम गर्छन् । बेबी क्यारियरमा छोरी बोकेर आएकी उनले निकै सकसले फारम भरिरहेकी थिइन् ।