काठमाडौं । ‘तैले मलाई अस्ति पागल भनेको होइन । मलाई पागल भन्ने तेरो हैसियत छ ।’ हरिशजंगले झट्टै चिनेनन् श्यामलाई । श्यामको कुरा सुनेर ट्वाँ परेर हेरिरहेका हरिशजंगलाई श्यामले धकेलिदिए । अनि सुरू भयो दुबैबीच हात हालाहाल । छुट्ट्याउने प्रहरी र पत्रकार, दर्शकचाहीँ एमाले कार्यकर्ता !
यो घटना हो, बबरमहलस्थित कार्की बैंक्वैटको । समय बुधबार साढे ११ । कार्यक्रम थियो, नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक । बैठकमा एमालेका शीर्ष नेताहरु आइसकेका थिएनन् कार्यकता र केही नेताहरु भने आइसकेका थिए ।
नेकपा एमालेको केन्द्रीय कमिटीको फोटो समाचार संकलन गर्न गएका उनीहरुबीच हात हालाहाल कसरी भयो ? खासमा श्यामलाई हरिजंगमाथि पृथ्वी जयन्तीको दिन फोटो खिच्दादेखि नै रिसइबी रहेछ । त्यस दिन फोटो÷भिडियो खिच्दा श्याम खाली अघि अघि गएर अन्य पत्रकारहरुलाई ब्लक गरिरहेका थिए रे ! कसैले खिच्ने खोज्यो कि ब्लक मात्र गरिदिने ! पत्रकारहरुले अघि गएर ब्लक नगर्न पटक पटक भनेपनि नमानेपछि भनिदिएछन्, ‘कस्तो पागल मान्छे रहेछ ।’ श्यामलाई पागल भन्ने पत्रकारहरुकै भीडमा थिए, हरिशजंग श्रेत्री पनि ।
अरु फोटोपत्रकारहरुमध्ये हरिशजंगलाई नै श्यामले तारो बनाएका रहेछन् । पछि फेरि बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा पनि आफूलाई पागल भनिएपछि त्यो भन्ने व्यक्ति हरिशजंग नै हो भन्ने लागेको रहेछ श्यामलाई । अनि त्यहीँ रिस बुधबार कार्की बैंक्वैटमा फेरे । तर, कार्की बैंक्वैटमा उनैले बढी गोदाइ भेटे ।
कार्की बैंक्वैटमा प्रथम चरणको झगडापछि फेरि दोस्रो चरणको झगडा पनि भयो । कार्की बैंक्वैटमा श्याम र हरिशजंगबीच झगडा भएपछि श्याम गायब भए । घटनापछि राष्ट्रिय फोटोपत्रकार समूह (एजएफपीजे) का अध्यक्ष प्रदीपवराज वन्तको समूहसहित हरिशजंग श्यामले काम गर्ने स्थल हिमाल टेलिभिजन गयो । श्याम घटनालगत्तै अफिस पुगिसकेका रहेछन् ।
एनएफपीजेका अध्यक्ष वन्तको समूहले हिमालयका चिफलाई भेटेर घटनाबारे सत्य तथ्य बुझ्न चाहेका थिए । हिमालयका चिफसँग भेट नभएपछि प्रशासन प्रमुख राजु श्रेष्ठसँग वन्तको समूहले गफ गर्न थाल्यो । गफगाफ हुन नपाउँदै श्यामले हरिशजंगलाई मुड्की प्रहार गरे । मुड्की आँखामा लाग्यो, हरिशजंग रुन थाले ।
मुड्की खाएपछि रुँदै हरिशले भने, ‘तलाई कुट्नै पर्ने भए त्यतिबेलै कुट्न सक्थे । तर, मैले कुट्ने मनसाय छैन । खेल्ने भए सिंगल सिंगल खेलौँ ।’ त्यसो त हरिशजंग कराते खेलाडी पनि हुन् । हिमालयका टिभीमा पनि फेरि कार्की बैंक्वैटजस्तै उनीहरुलाई छेकेर फेरि छुट्यायो नत्र फेरि बबाल हुनेवाला थियो । कार्की बैंक्वेटमा झगडा गरेर अफिसमा पुगेर पनि झगडा गर्न नथाकेका श्यामलाई अहिले जागिरबाट हटाइएको छ ।