काठमाडौ । पछिल्लो समय कलाकारहरु पनि धमाधम राजनीतिक पार्टी प्रवेश गर्ने लहर चलेको छ ।
कोमल ओली, रेखा थापा लगायतका कलाकार राजनीतिमा सकृय छन् । केही समय अघि सम्म डा बाबुराम भट्टराईको पार्टीमा रहेकी अभिनेत्री करिश्मा मानन्धर हालै नेकपा एमाले प्रवेश गरेकी छन् । कलाकार नीर शाहलाई नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाउने भएको छ ।
यस्तो लहरमा अब सन्दीप क्षेत्रीले पनि सबैलाई आश्चर्यमा पार्ने एउटा तस्बिर सार्वजनिक गरेका छन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेको तस्बिर सार्वजनिक गरेका हुन् । उनको यो तस्बिर सार्वजनिक भएपछि उनी एमालेमा प्रवेश गर्न लागेको चर्चा चलेको छ । तर उनले त्यो कुरालाई पुष्टि हुने कुनै सार्वजनिक अभिब्यक्ति दिएका छैनन् ।
सन्दीपले भने कुनै पनि पार्टीमा आवद्ध नभएका युवाका मुद्दामा ध्यानाकर्षण गराउन मात्रै ओलीसँग भेटवार्ता गरेको बताएका छन्। उनले ओलीलाई मात्रै होइन हरेक पार्टीका शीर्ष नेतालाई भेट्ने अभियान नै सुरु गरेको बताएका छन्। नेपालमै बसेर केही गरौं भनेर लागिपरेका युवाको मागलाई दलहरुले सुनुवाई गर्नु पर्छ भनेर यो अभियान थालेको सन्दीपले बताए।
गत महिना मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका सन्दीपले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने तयारीमा रहेको बताए।