Wednesday, January 15, 2025
समाजविराटनगरमा पनि भेटिन थाले नाइरोबी फ्लाईका सङ्क्रमित

विराटनगरमा पनि भेटिन थाले नाइरोबी फ्लाईका सङ्क्रमित

सुनसरी | विराटनगरमा नाइरोबी फ्लाई किराका कारण सङ्क्रमित हुनेहरु भेटिन थालेका छन् ।

सङ्क्रमितहरु सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचारका लागि आउन थालेका छन् । केही समय अघि प्रदेश १ को झापामा मात्रै यस्ता बिरामी भेटिएका थिए । पछिल्लो समय दैनिक १५ जनासम्म उपचारका लागि आउन थालेको कोसी अस्पतालका वरिष्ठ चर्म (छाला), यौन तथा कुष्ठ रोग विशेषज्ञ डा. असित घिमिरेले जानकारी दिए ।

‘एक साताअघिदेखि किराका कारण सङ्क्रमित भएर आउनेको सङ्ख्या बढ्दै छ,’ उनले भने, ‘किराले फोहोर गरिदियो भने पनि छालामा सङ्क्रमण हुन्छ ।’ सङ्क्रमण भएको घाउ पाक्ने र अन्य खालका सङ्क्रमणलाई थप असर पर्नसक्ने डा. घिमिरेको भनाइ छ ।

खेतबारीमा काम गर्ने तथा जङ्गलतिर घाँस दाउरा गर्न जानेमा यस्तो समस्या धेरै देखिने उनले बताए । बर्खाका समयमा यसको सङ्क्रमण धेरै हुने उनको भनाइ छ । घिमिरेका अनुसार फोहोर गर्दा वा छालामा घर्षण उत्पन्न हुने गरी मडारिँदा किराको शरीरबाट छालालाई जलाउने खालको एसिड निस्कन्छ ।

लक्षणहरू त्यो एसिड (अम्लीय पदार्थ)ले छालामा घाउ तथा एलर्जी हुने, जनै खटिराजस्तो घाउ आउने, ठूला दागहरु देखिने, छाला रातो हुने, धेरै पोल्ने लगायतका समस्या आउने हुन्छ ।

घिमिरेका अनुसार उपचारपछि सङ्क्रमण बढीमा दुई साताभित्रमा निको हुन्छ । स्वास्थ्य सम्बन्धि गम्भीर समस्या ननिम्तिने भएकाले आत्तिन वा डराउन पर्दैन । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले सङ्क्रमण रोकथाम तथा बिरामीको उपचारका लागि छाला रोग विशेषज्ञहरुसँग समन्वय गरिने बताए । – रासस

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img