काठमाडौं : दुई सातायता मुलुकमा कोरोना भाइरस संक्रमण दर उच्च बढेको छ। संक्रमण दर १० प्रतिशत नाघेकाले सतर्क हुनुपर्ने अवस्था आएको विज्ञहरू बताउँछन्। काठमाडौं उपत्यकालगायत भारतसँगका सीमावर्ती सहरमा कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको हो। पछिल्लो २४ घण्टामा मुलुकभर ३ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ। ३ हजार ३ सय ५७ जनाको परीक्षण गर्दा १० प्रतिशतभन्दा बढीमा संक्रमण पाइएको हो। मुलुकभर सक्रिय संक्रमितको संख्या २ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार, बीए ५ भेरियन्ट अहिलेसम्मकै छिटो फैलिएको पाइएको छ। ‘यो भेरियन्ट ओमिक्रोनको उपप्रजाति हो,’ डा. पुनले भने, ‘यसले संक्रमणको नयाँ लहर विकास गर्ने सम्भावना छ। सचेत हुनैपर्छ।’ छिटो फैलिए पनि विगतका भेरियन्ट जस्तो घातक नदेखिएको डा.पुनले बताए।
दक्षिण अफ्रिकामा पत्ता लागेको यो भेरियन्ट युरोप, अमेरिका हुँदै भारतबाट नेपालमा प्रवेश गरेको हो। फ्लुसँग मिल्दोजुल्दो लक्षण भएको, घाँटी–जीउ दुख्ने, खोकी लाग्ने, थकान महसुस हुने, ज्वरो आउनेलगायतका लक्षणहरू संक्रमितमा पाइएका छन्।
सहरी क्षेत्रमा संक्रमण बढ्दो
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार, सीमावर्ती क्षेत्रहरूमा संक्रमण पुष्टि हुने क्रम बढ्दो छ। ‘सीमापारी भारतमा संक्रमण पुष्टि हुने क्रम बढ्दो छ,’ डा. दासले भने, ‘खुला सीमा भएका सीमापारिबाट फर्केका व्यक्तिहरूमा पनि संक्रमण पुष्टि हुनेको संख्या बढिरहेको छ।’ असार तेस्रो सातादेखि मुलुकमा कोरोना संक्रमण बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारतसँग सीमा जोडिएका पूर्वी तराईका झापा, मोरङदेखि पश्चिमका बाँके, बर्दियामा संक्रमण पुष्टि हुने क्रम बढ्दो छ।
काठमाडौंलगायत ललितपुर र भक्तपुरमा पनि नयाँ संक्रमितको संख्या बढेको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय १९ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुरमा ३० र भक्तपुरमा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म मुलुकभर कुल जनसंख्याको ७० दशमलव १ प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाएका छन्। ७० दशमलव ४ प्रतिशतले एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ। त्यस्तै १२ वर्ष माथिका ८७ दशमलव ८ प्रतिशतले मात्र पूर्णमात्रा खोप लगाएका छन्। एक मात्रा खोप लगाउनेको संख्या ८८ दशमलव १ प्रतिशत मात्र छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोपको पूर्णमात्रा लगाउन आग्रह गरे। उनले भने, ‘खोपले स्वास्थ्य जटिलता रोक्छ। ज्यान जाने अवस्थाबाट जोगाउँछ। संक्रमणको संवेदनशीलतालाई बुझेर जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गर्छु।’ -आन्नापूर्ण पोष्ट