काठमाण्डाै – निर्माता एवम् अभिनेता दीपकराज गिरीले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहकाे अनधिकृत संरचना हटाउने अभियानलाई साथ दिदै सामाजिक संजालमा एक पोस्ट गरेका छन् ।
उनले आज बुधवार सामाजिक सञ्जालमार्फत भोट घट्ला भनेर बाटोमा टाँसेर बनेका पर्खाल, घरलाई छुनसमेत नसक्ने मेयरहरूले बालेन्द्र र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाट सिक्नुपर्ने बताएका हुन् । उनले लेखेका छन्,” बालेन जे गर्दैछन्, बाबुरामले जे गरे, भोट घट्ला भनेर बाटोमा टाँसेर बनेका पर्खाल, घरहरूलाई छुनसमेत नसक्ने मेयरहरूले केही सिक्छन् कि ?”
अहिले काठमाण्डाैका मेयरले अनधिकृत संरचना हटाउने कामलाई अभियानकै रूपमा सुरु गरेका छन् । अस्ति साेमवार नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्डमा राखिएका पसल र संरचना हटाएर पार्किङ गर्ने ठाउँ बनाउने अभियान सुरु गरेको महानगरले आज बुधवार न्युरोड क्षेत्रका संरचना हटाएको छ ।
यस्तै बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाण्डाैकाे सडक विस्तार भएकाे थियाे ।