काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेवाः सभ्यता र संस्कृतिमाथि नै डोजर चलाएर आतंकित बनाएको भन्दै ‘कोर सिटी’का नेवार समुदायले बगावत शुरु गरेका छन् ।
टुकुचाको डेढ सय वर्ष पुरानो सुरुङ भत्काएपछि असन र बाङ्गेमुढामा आक्रमण गरिएको भन्दै स्थानीयले शनिवार साँझ बाङ्गेमुढा चोकमा खबरदारी सभा गर्दै महानगरपालिकाको गुण्डागर्दी बन्द गर्न माग गरेका छन् ।
विरोध सभालाई सम्बोधन गर्दै नेवा दे दबुका अध्यक्ष पवित्र बज्राचार्य, रमेश श्रेष्ठलगायतले मेयर बालेनमा विजय उन्माद बढेको भन्दै नेवाः समुदायले सबै खाले अन्यायविरुद्ध लड्नु परेमा कहिल्यै पराजित नभएको बताउनुभयो । उनीहरूले नेवाः समुदायमाथिको दमनको प्रतिरोध हुने बताउनुभयो ।
बाङ्गेमुढाको त्वाःछेँ भवन (सामुदायिक भवन) महानगरपालिकाले शुक्रवार डोजर लगाएर भत्काएपछि यहाँका स्थानीय विरोधमा उत्रिएका हुन् । उनीहरूको आन्दोलनमा सुमन सायमी लगायतले पनि समर्थन जनाएका छन् ।
वडा भवन बनाउने भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदारहँदै महानगरपालिकाले जबरजस्ती भत्काइदिएको विरोधमा बाङ्गेमुढाका स्थानीय बासिन्दाबाट खबरदारी सभा आयोजना गरिएको भाषा अभियन्ता विराजकाजी राजोपाध्यायले बताउनुभयो ।
उहाँका अनुसार ४५ वर्षअघि स्थानीयले बनाएको सामुदायिक भवन नभत्काउन आग्रह गर्ने ८२ वर्षका वृद्धलाई समेत प्रहरी लगाएर लछारपछार गरिएको थियो । त्यस बेला २५ नम्बर वडाका वडाध्यक्ष राजेश डंगोल पनि थिए ।