सुनसरी / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रेखा थापाले आसन्न मंसिर ४ हुने निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह रहेको बताएकी छन् ।
बिहीबार पथरीशनिश्चरे १० मा भएको घरदैलो कार्यक्रममा बोल्दै , ‘मंसिर ४ को निर्वाचन केवल निर्वाचन मात्रै हैन । यो युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह पनि हो । यो पटक देशभर युवाहरू परिवर्तनको लागि बिद्रोह गरिरहेका छन् ।´ उनले भनिन् ।
‘पार्टी बचाउने नाममा आफ्नो छोरा, नाति, बुहारी खाडी पठाउने, छोराछोरी कहिले फर्किएर आउलान् भनेर बुवा आमा कुरेर बस्ने, अनि छोरो सग्लो आउँछ कि बाकसमा आउँछ थाहा छैन । यस्तो राजनीति कहिलेसम्म गर्ने, यो पटक युवा जागेका छन् । युवालाई निराश नबनाईदिनुहोस् भनी उनले भनिन् ।
उनले पुरानो पुस्ताबाट वाक्क भएका जनताहरूलाई विकल्प दिन युवा पुस्ता मैदानमा आउन बाध्य भएको जिकिर गरेकी छन् । युवा पुस्तालाई जनताले निराश बनाए फेरिपनि देशको अवस्था उस्तै रहने बताएकी छन् ।



