काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार राती अचानक काठमाडौंको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) पुगे । मदिरा पिएर डान्स गर्न विश्वमा नाइटक्लबको अभ्यास भएको पाइन्छ । मुलुकको ठूलो राजनीतिक दलका नेता नाइट क्लबमा देखिएपछि विभिन्न आशंका उत्पन्न भएको छ ।
पैसा तिरेर रमाइलो गर्न पुगेका सर्वसाधरणलाई ओलीले जबरजस्ती राजनीतिक मञ्च बनाएको भन्दै क्लब संचालकहरुमाथि प्रश्न समेत उठ्न थालेको छ । निर्वाचनको मुखमा केही सहयोगीसहित क्लब पुगेका ओलीलाई क्लब संचालकहरुले निकै महत्वसाथ क्लबमा पुर्याएका थिए । तर, ओलीलाई क्लबमा पुर्याउने एक सञ्चालक भने सट्टेबाजी धन्दा गरेको अभियोगमा पक्राउ परेका व्यक्ति रहेको पाइएको छ ।
अध्यक्ष ओलीसँगै तस्विरमा देखिएका एलओडीका सञ्चालक भूपेन कुँवर सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका व्यक्ति हुन् ।

रातो ज्याकेटमा सजिएर एलओडी पुगेका ओलीसँगै पहेँलो कलरको कोट र हातमा महँगो फोन बोकेर झुस्स दारी पालेका व्यक्ति कुँवर हुन् । क्रिकेट तथा फूटबलको अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सट्टेबाजी गरेको आरोपमा भूपेन सहित ६ जनालाई काठमाडौं प्रहरीले २०७५ साल जेठमा पक्राउ गरि मुद्दा चलाएको थियो । गिरोहका नाइके गौरव तिवारी र राष्ट्रिय फूटबल टिमका पूर्व खेलाडी अञ्जन केसी समेत पक्राउ परेका थिए ।
ओलीको दायाँ तर्फ भूपेन कुँवर
महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । भूपेनसहितका अभियुक्तबाट प्रहरीले २ लाख रुपैयाँ नगद र सट्टेबाजीमा प्रयोग गरिने डिभाइसहरु समेत बरामद गरेको थियो । उनीसँगै पक्राउ परेका तिवारी सिटी सेन्टर र सिभिल मलस्थित १२ डि सिनेमाका सञ्चालक हुन् । उनीहरुको टिममा दिनेश बोगटी र नरेन्द्र श्रेष्ठ समेत दिए । उक्त प्रकरणमा गुण्डा नाइके दावा लामा भने फरार भएका थिए ।
उनीहरुले ईन्डियन प्रिमियर लिग ‘आईपिएल’ देखि युरोपियन फूटबल लिगहरुमा समेत करोडौंको बेटिङ गराउँदै आएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । विभिन्न खेलमा हुने जि वा हारलाई जुवाको रुपमा खेलाउनु नै सट्टेबाजी हो । सट्टेबाजी नेपालमा अवैध मानिन्छ । त्यतिबेला यो समुहले ७ करोड १४ लाख भन्दा बढी रकमको कारोबार गरेको आरोप प्रहरीको थियो ।

जुवाका लागि तिवारीले लन्डनबाट खाता खोलेका थिए । तिवारीले शुरुमा भारतीय नागरिक नागराज भनेर चिनिने अमृत अग्रवालसँग सट्टेबाजीको धन्दा चलाउने गरेका थिए । उनीहरुबीच लेनदेन विवाद भएपछि यो समुह फूटेको थियो ।
भूपेन र तिवारी मिलेर मास्टर एकाउन्ट नै खोलिएको थियो । भूपेन्द्र शम्शेर कुँवरको रुपमा समेत आफूलाई चिनाउँदै आएका उनले ‘भूपेन ०००’ नामक एकाउन्ट नै खोलेर सट्ट्बाजीको धन्दा गराउँदै आएका थिए । भारतमा भएको आइपिएलमा भूपेन्द्रको एकाउन्टबाट ३ करोड २२ लाख ९७ हजार रुपैयाँ बराबरको लेनदेन भएको प्रहरी अनुसन्धानमा देखिएको थियो ।
भूपेनसँग अन्जन केसीको मिलेमतोमा पक्राउ पर्नुभन्दा २ वर्षअघि देखि नै सट्टेबाजीको धन्दा शुरु गरेको प्रहरीको अनुसन्धानमा देखिएको थियो । उनै सट्टेबाजी धन्दाका नाइकेसँग नेकपा एमालेका अध्यक्ष ओली क्लब छिर्नुलाई रहस्यमयी रुपमा हेरिएको छ । यसअघि विभिन्न शक्तिकेन्द्रको आडमा भूपेन्द्र छुटेका थिए । उनलाई छुटाउन कतै केपी ओलीकै हात त थिएन भन्ने शंका समेत उब्जिएको छ ।