स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा उठेर काठमाण्डू महानगरपालिकाको मेयर पदमा विजयी भएका बालेन्द्र शाहले पद सम्हालेदेखि नै ‘प्रशंसा र आलोचना’ दुवै खेप्दै आएका छन्।
उनी मेयर भएपछि महानगरले चालेका कतिपय कदमलाई लिएर मानिसहरूले प्रशंसा गरेका छन् भने कतिपय घटनामा उनी तिखो आलोचनामा पनि परेका छन्। पछिल्लो पटक थापाथलीस्थति वाग्मती नदी किनारामा रहेको सुकुम्बासी बस्ती हटाउने उनको अभियानका कारण शाहको धेरैले आलोचना गरिरहेका छन्। यद्यपि उक्त विषयमा उनको कदमको प्रशंसा गर्नेहरू पनि उत्तिकै छन्। काठमाण्डू महानगरपालिकाको मेयरका रूपमा पद सम्हालेदेखि विवादमा परेका तथा चर्चा पाएका बालेन्द्र शाहका केही मुख्य कदम यस्ता छन्:
१. बैठको प्रत्यक्ष प्रसारण
बालेन्द्र शाहले मेयर पद सम्हालेकै दिन आफ्नो चुनावी अभियानमा घोषणा गरे अनुसार महानगरपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गराए।उक्त विषयले उनी सुरुमै बहसको केन्द्रमा रहे। कतिपयले शाहको उक्त कदमलाई “सस्तो लोकप्रियता” भने त कतिले पारदर्शिता हुने भन्दै प्रशंसा पनि गरे।
उक्त बैठकमै काठमाण्डू महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले प्रत्यक्ष प्रसारणमाथि प्रश्न गर्दै, “अघि हामीले शपथ गर्ने बेलामा गोपनीयता, अहिले हाम्रो चाहिँ ‘ओपनीयता’ भयो कि भएन?” भनेका थिए। मेयर शाहले बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयको प्रतिरक्षा गर्दै त्यसलाई एउटा संसदीय अभ्यासको रूपमा प्रस्तुत गरेका थिए। यद्यपि महानगरका विभिन्न बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने कार्यले हालसम्म निरन्तरता पाएको देखिन्छ।
३. फुटपाथ व्यवस्थापनको पहल
मेयर शाहले चालेको अर्को धेरै नै विवादित भएको कदम हो- फुटपाथ व्यवस्थापन र त्यस क्रममा फुटपाथमा व्यापार गर्नेहरूमाथि नगर प्रहरीले गरेको व्यवहार। फुटपाथका लागि छुट्टाइएको क्षेत्रमा व्यापार गर्नेहरूप्रति कडा नीति लिएका शाहले नगर प्रहरीलाई त्यस्ता व्यापारीलाई हटाउने निर्देशन दिएका थिए। सोही अनुसार नगर प्रहरीले साना व्यापारीका सामानहरू फाल्नेदेखि जबरजस्ती ठेलागाडा एवं सामानहरू जफत गर्ने गरेका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भए।
नगर प्रहरीले जबरजस्ती सामान तथा बिक्री गर्ने ठेलाहरू भत्काइदिएपछि बिचल्ली परेका साना व्यापारीहरूको रुवाबासीले पनि सामाजिक सञ्जालदेखि प्रमुख सञ्चारमाध्यमहरूमा समेत स्थान पाए। महानगरपालिकाको त्यस्तो कारबाहीप्रति धेरैले आक्रोश व्यक्त गरेका थिए भने नेतादेखि सर्वसाधारणसम्मले पीडित व्यापारीहरूलाई आर्थिक सहयोग समेत गरेका खबरहरू आएका थिए।
४. भूमिगत पार्किङसम्बन्धी नियममा कडाइ
भूमिगत पार्किङको स्वीकृति लिएर महानगरपालिकाबाट नक्सा पास गरेका तर त्यस्ता पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग गरेका भवन सञ्चालकलाई कारबाही गर्दा पनि मेयर शाहको आलोचना र प्रशंसा दुवै भयो।
सुरुमा महानगरपालिकाले ३५ दिने सूचना प्रकाशित गर्दै त्यस्ता संरचनाहरूलाई पार्किङ बाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न भनेको थियो। तर अटेर गरेको भन्दै मेयर शाहले आफ्नै अगुवाइमा बानेश्वर क्षेत्रबाट अन्य प्रयोजनका लागि प्रयोग भएका भूमिगत पार्किङका संरचनाहरू भत्काउन सुरु गरे।
त्यस क्रममा बानेश्वर क्षेत्रकै केही व्यवसायी एवं घरधनीहरूसँग उनको चर्काचर्की र बहस समेत भयो। त्यसले उनी विवादमा मात्र परेनन् कैयौँले शाहले “अर्काको व्यक्तिगत सम्पत्तिमाथि जबरजस्ती गरेको” आरोप समेत लगाए। यद्यपि कैयौँले “कानुनलाई अटेर गर्नेलाई” मेयरले तह लगाएको भन्दै त्यसको प्रशंसा पनि गरे।
५. टुकुचा खोज्ने अभियान
भूमिगत पार्किङ हटाउने अभियानकै विस्तारित रूपमा शाहले काठमाण्डूका विभिन्न क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचनाहरू पनि भत्काउने कार्य अघि बढाए। त्यसलाई लिएर पनि उनको चर्को आलोचना भयो भने कतिले उनको प्रशंसा पनि गरे। विशेषगरी नारायणहिटी दरबार नजिक जयनेपाल सिनेमा भएको क्षेत्रबाट सुरु भएको उनको टुकुचा खोज्ने अभियान विवादित बन्यो।
त्यस स्थानमा राणाकालमै टुकुचा खोलालाई छोपिएको र त्यसबेला नै त्यसलाई छोप्ने संरचना बनाइएकाले त्यो ऐतिहासिक महत्त्वको संरचना भएको कतिपयको तर्क थियो। त्यसलाई बल पुर्याउने प्रमाणसहित कतिपय सञ्चारमाध्यमले समाचार प्रकाशित पनि गरे।यद्यपि कतिपयले टुकुचा छोपेर बनाएका संरचनाहरू हटाउनुपर्ने माग गर्दै बालेनको कार्यको प्रशंसा पनि गरे।
६. सुकुम्बासी हटाउने प्रयास
बालेन्द्र शाह विवादमा परेको अर्को घटना हो- यसै साता थापाथलीस्थित वाग्मती नदी किनारामा रहेको सुकुम्बासी बस्ती हटाउने उनको प्रयास। त्यसका लागि महानगरपालिकाको टोली स्काभेटरसहित उक्त बस्तीमा पुग्दा त्यहाँ झडप भयो। झडपमा नगर प्रहरीसहित केही व्यक्तिहरू घाइते पनि भए। शाहले आफूले वाग्मती सभ्यता एकीकृत विकास समितिको आग्रह र समन्वयमा उक्त बस्ती खाली गराउन लागेको सामाजिक सञ्जालमार्फत जनाएका छन्।
तर उनको उक्त कदमको धेरैले आलोचना गरेका छन्। आलोचकहरूले शाह तथा महानगरले कानुनी प्रक्रिया पूरा नगरेको र पूर्व सूचना तथा विकल्प नदिइकन वर्षौँदेखि बस्दै आएका त्यस क्षेत्रका मानिसहरूलाई जबरजस्ती हटाउन खोजेको आरोप लगाएका छन्।यद्यपि यो विषयमा उनको समर्थन गर्नेहरूले त्यहाँ अधिकांश मानिसहरू वास्तविक सुकुम्बासी नभएको र अन्य दलले राजनीति गरेको आरोप लगाएका छन्।
उक्त विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समेत महानगरको कदमको आलोचना गरेपछि शाहले सामाजिक सञ्जालबाटै त्यसको जवाफ फर्काएका थिए। (बीबीसीको सहयोगमा)