चितवन – चितवनमा बिहे भोज खाएर दुई जय जनाभन्दा बढी बिरामी परेपछि चितवन गार्डेन रिसोर्टमा शील गरएको छ ।
रिसोर्टमा आयोजना गरिएको विवाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै पटक बिरामी परेपछि जिल्ला प्रशासन कार्यालयले होटल शील गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा र चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील लगाइएको हो ।
नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती आएकाहरु यस रिसोर्टमा शुक्रवार बिहे भोज खाएपछि बिरामी परेका थिए । बिहे भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । यी समस्या देखा परेका बिरामीहरुलाई हस्पिटलमा भर्ना हुन आग्रह गरिएको होटलका प्रबन्ध निर्देशक जनार्दन रिजालले जानकारी दिए ।उनका अनुसार ६६ जनाले उपचार समेत गराइसकेका छन्।
बिहे भोज खाएका दुई सयभन्दा बढी बिरामी परेपछि भरतपुर महानगर र जिल्ला प्रशासन कार्यालयले होटलको अनुगमन गरेको थियो । घटना पश्चात भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनाल, वडा अध्यक्ष मनोज रानाभाट, वडा सदस्यहरुलगायतको टोलीले होटलमा पुगेर अनुगमन गरेको हो । मेयर दाहालले सबै निकायबाट प्रतिवेदन तयार भइरहेको भन्दै दोषी ठहर भए कारबाही गर्ने बताईन ।
होटलका प्रबन्ध निर्देशक रिजालले बिरामीहरुलाई एउटा अस्पतालमा उपचारको लागि व्यवस्थापन गरिएको भन्दै अन्य पक्षबारे सोधखोज भइरहेको बताए ।