काठमाडौं । आज विश्वभर क्रिसमस मनाइँदै छ । आफ्नै सरकार ढलाएर दुई ध्रुवमा पुगेका केपी शर्मा ओली र पुष्पकमल दाहाल फेरि एउटै टेकोमा अडिएका छन् । आजैका दिन प्रचण्डलाई प्रधानमन्त्रीको पद उपहार मिलेको छ । त्यो पनि पछिल्लो २ वर्षदेखि एक अर्कोको कट्टर आलोचक रहेका केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सरकार निर्माणको लागि सहमति जुटेपछि प्रचण्डलाई यो उपहार मिलेको हो ।
सरकार निर्माणमा दाबी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरू राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेका छन् । राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्तावसहित प्रतिनिधिसभाका बहुमत सदस्यहरूको पत्र दर्ता भएको जनाएको छ ।
राष्ट्रपति कार्यालयका माओवादी केन्द्रसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरूको हस्ताक्षरसहितको पत्र आइपुगेको हो ।



