काठमाडौं । सप्तरीमा प्रहरीले पिडितको उजुरी नलिएको गुनाँसो आएपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले गृहमन्त्री रवि लामिछानेलाई फोन गरेर यसबारे अवगत गराएका छन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले यसबारे जानकारी गराएका हुन् ।
जनमत पार्टीको कार्यालयमा राखिएको गुनासो पेटिकामा एक महिलाको कपाल खौरिदिएको घटनामा पीडित महिला प्रहरीसमक्ष पुग्दा समेत उजुरी नलिएको गुनासो आएको भन्दै राउतले गृहमन्त्रीलाई जानकारी गराएका छन् ।
उनले सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो देखिएको समेत बताएका छन् ।
‘हिजो आफ्नो क्षेत्रका गुनासो सुन्ने क्रममा सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो, र पीडित महिला (कपाल खौरिदिएको पिडित महिला समेत) प्रहरीकहाँ हिम्मत गरेर जाँदा पनि प्रहरीले उजुरी लिन नमानेको विषय उठेकोले गृहमन्त्रीज्यूलाई सो बारेमा फोनमा अवगत गराएको छु,’ उनले लेखेका छन्।



