काठमाडौं । काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ । पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
मंगलबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएकाे छ ।
पृथ्वी जयन्ती
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् ।
पृथ्वी जयन्तीको अवसरमा विगतमा सार्वजनिक बिदा दिइने गरेको थियो । तर, पछिल्ला केही वर्षयता बिदा कटौती भएको छ । यद्यपि, राजनीतिक दलसँगै नागरिकस्तरबाट पृथ्वी जयन्ती मनाइने गरेको छ ।
यस वर्ष पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछन् । नेपाली सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि आजै सिंहदरबार अगाडि समापन गरिँदै छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाडौंसम्म हिँडेको बाटो हुँदै पदयात्रा गरिएको हो ।