Wednesday, January 15, 2025
समाजदुर्घटना हुनुअघि विमान उड्दाउड्दै फेसबुक लाइभ गर्ने यी व्यक्ति को हुन् ?

दुर्घटना हुनुअघि विमान उड्दाउड्दै फेसबुक लाइभ गर्ने यी व्यक्ति को हुन् ?

काठमाडौं। पोखरामा दुर्घटना हुनुभन्दा केही सेकेन्डअघि सोनु जयसवालले विमानबाटै फेसबुक लाइभ गरे। उड्डयन नियमअनुसार विमान उडिरहेको अवस्थामा मोबाइल फोनलगायत विद्युतीय उपकरण चलाउन पाइँदैन। तर विमान ल्यान्ड हुने समयमा आकाशबाट विमान धावनमार्गमा टर्निङ लिएपछि सोनुले विमान भित्र र बाहिरको दृश्य लाइभ गरे।

सामान्यत: विमान उचाइमा पुगेपछि मोबाइलको नेटवर्क आउँदैन। तर, ल्यान्ड हुने समयमा विमान निकै तल हुने भएकाले नेटवर्कले भेट्न सक्छ। त्यो बेलामा फोनमा कुराकानी गर्न तथा डेटामार्फत इन्टरनेट चलाउन सकिन्छ।

सोनुले पनि मोबाइलले पोखराको दृश्य र विमानभित्रको आफ्नो भिडिओ लाइभमा देखाउँदै थिए। भिडिओमा विमान बिस्तारै अवतरण गर्ने क्रममा रहेको देखिन्छ। केही क्षण क्यामरा आफूतिर फर्काएर सोनु मुसुक्क हाँस्छन्। अनि फेरि विमानमा सवार अन्य यात्रुतर्फ फर्काएर खिचिएको दृश्य देखिन्छ।

भिडिओ हेर्दा विमान हल्लिनुअघि विमानमा भएका कसैलाई पनि आफू मृत्युको मुखमा परेको किञ्चित् शङ्का पनि परेको देखिँदैन। अचानक विमान हल्लियो। हल्लिएपछि यात्रुहरूको चिच्याहट सुनियो। विमानमा आगो लागेको देखियो। हल्लिरहेको स्क्रिनमा दनदनी बलेको आगोको लप्का देखिन्छ। केही सेकेन्डपछि लाइभ बन्द हुन्छ।

सायद विमान जमिनमा ठोक्किएपछि। मोबाइल पनि जल्यो होला । विमान दुर्घटनाको केही घण्टामै एउटा भिडिओ भारतमा भाइरल हुन पुग्यो। धेरै मिडियाले धेरैपटक यो भिडिओ देखाए। चालक दलका सदस्यसहित ७२ यात्रु चढेको सो विमानमा सोनु पनि एक यात्री थिए। ७१ यात्रुको शव भेटिएको छ।

तर, उनले विमान दुर्घटनाको कारण पत्ता लगाउन लाइभमार्फत गतिलो प्रमाण छाडे। साथीहरूसँग नेपाल घुम्न गएका सोनु भारत उत्तर प्रदेशको गाजीपुरका हुन्। उत्तर प्रदेशका बीबीसी संवाददाता शशीकान्त तिवारीका अनुसार सोनुका परिवारजन र साथीभाइले फेसबुकमा उक्त भिडिओ हेरेका रहेछन्। उनीहरूले भिडिओ हेरेको भन्दै विमान दुर्घटनाकै रहेको पुष्टि बताएका थिए।

‘‘सेती नदीनजिकै खोँचमा विमान दुर्घटना हुँदा सोनु लाइभ आएका थिए, त्यो भिडिओ हामीले लाइभ हेरेका हौँ। हेर्दाहेर्दै विमानमा आगो लाग्यो। पछि लाइभ बन्द भयो,’’ उनका साथी मुकेश कश्यपले सञ्चारकर्मीलाई भने।

सोनुको फेसबुक प्रोफाइल ‘प्राइभेट’ छ। उनले आफ्ना पोस्टहरू फेसबुकमा भएका साथीले मात्र हेर्न पाउने बनाएका छन्। स्थानीय पत्रकार शशीकान्त तिवारीले सोनुको भिडिओ कश्यपले आफूलाई देखाएको बताएका छन्।

सामाजिक सञ्जालमा देखापरेका अन्य भिडिओमा विमान बस्तीनजिकै पुगेपछि अचानक ढल्किएको देख्न सकिन्छ। जयसवालले उडिरहेको विमानबाट कसरी भिडिओ लाइभस्ट्रिम गर्न सके भन्ने कुरा स्पष्ट हुन सकेको छैन।

उड्डयन विज्ञले सोनुको लाइभ फुटेजले दुर्घटना अनुसन्धानमा सहयोग पुग्ने बताएका छन्। सोनु जयसवालसँग विमानमा उनका साथीहरू अभिषेक कुशवाहा, अनिल राजभर र विशाल शर्मा थिए। उनीहरू एकै गाउँका थिए। उनीहरूका परिवार शोकाकुल छन् ।

अभिषेक कुशवाहाका आफन्त चन्द्रभान मौर्यले भने, ‘‘सरकारले सके जति हामीलाई सहयोग गर्नुपर्छ। हामी आफ्ना प्रियजनको शव हामीकहाँ फर्काइयोस् भन्ने चाहन्छौँ।’’

उनीहरू काठमाडौंस्थित पशुपति दर्शनको लागि आएका थिए। जनावरी १३ शुक्रवारको दिन नेपाल गएका उनीहरूको आफन्तले बताए। नेपाल यात्राको योजना सोनुले बनाएका थिए।

काठमाडौंमा शुक्रबार र शनिबार बसेर उनीहरू आइतबार पर्यटकीय गन्तव्य पोखराका लागि उडेका थिए। त्यहाँबाट पुनः काठमाडौँ फर्किने उनीहरूको योजना थियो। तर भाग्यको खेला अर्कै भयो। उनीहरूले आकाशबाटै मात्रै पोखरा देख्न पाए।

जयसवालका पिता राजेन्द्र प्रसाद जयसवालले आफूले त्यो भिडिओ हेर्न नसकेको बताए। ‘‘मैले आफैँ त्यो भिडिओ हेर्न सकिनँ। मैले सोनुका साथीहरूले त्यसबारे भनेको कुरा मैले सुनेको हुँ। हाम्रो जीवन खत्तम भयो’’ उनले भने।

बीबीसीको सहयोगमा

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img