काठमाडौं । चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टीले वाचापत्र सार्वजनिक गर्दै रोजगारीका लागि बाध्यतावश देश छाड्नु नपर्ने बताएको थियो । वाचा पत्रमा ३१ वर्षपछि कुनै पनि नेपाली वैदेशिक रोजगारीका लागि विदेश जान बाध्य हुनुनपर्ने कल्पना पूरा हुने भनिएको थियो ।
तर, यो वाचापत्र ल्याउने पार्टीका सभापति रवि लामिछानेले म्यानपावर कम्पनी, विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श सेवा (एजुकेसन कन्सल्टेन्सी) का सञ्चालक एवं रेमिट्यान्स व्यवसायीलाई नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा पठाएका छन् । रास्वपाले गरेको निर्णयका आधारमा पार्टी उपसभापति समेत रहेका डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भए र मंगलबार पद तथा गोपनीयताको शपथ लिए ।
अर्याल सोझै स्वार्थ बाझिने मन्त्रालयमा मन्त्री बनेर आएका छन् । अर्याल म्यानपावर कम्पनीसँग पनि जोडिएर आफ्ना व्यवसायहरू चलाउँछन् । उनी रेमिट्यान्स व्यवसायमा समेत संलग्न छन् ।
विदेश जाने अवस्था शून्यमा पुर्याउँछु
मङ्गलवार श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदबहालीका क्रममा सञ्चारकर्मीसँग उनले नेपाली विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्याउने बताए । उनले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ’, उनले भने ।
स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको मन्त्री अर्यालले बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ ।
‘दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ’, उनले भने ‘त्यसको निराकरणका लागि मैले काम गर्छु ।’ मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिने मन्त्री अर्यालको भनाइ छ । ‘बाध्यताले नभइ चाहेरमात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो’, उनले भने ।
अर्यालले बोले अर्को विवादित झुठ
मंगलबार श्रम तथा रोजगार मन्त्रीमा रास्वपाका डोलप्रसाद (डिपी) अर्यालको नियुक्ती चौतर्फि चर्चाको विषय बन्यो । नेपाली जनताबाट पैसा लिएर विदेश पठाउने म्यानपावर चलाएका व्यक्ति नै श्रममन्त्री बनेको भन्दै सामाजिक सञ्जालमा मन्त्री अर्यालयको व्यापक आलोचना समेत भयो ।
मन्त्री बनेसँगै थप विवादित बनेका डोलप्रसाद (डिपी)अर्यालले अर्को विवादित झुठ बोलेका छन् । उनले चर्को आलोचनाबाट आफुलाई बचाउ गर्दै विभिन्न व्यवसायमा रहेको भए पनि म्यानपावर कम्पनीमा भने नरहेको दाबी गरेका छन् ।
श्रममन्त्रीमा नियुक्त भएका अर्याल श्रृष्टि ओभरसिज इम्प्लोयमेन्ट सर्भिस प्रालिको अन्तराष्ट्रिय बजार निर्देशक समेत रहेको समाचार विभिन्न सञ्चारमाध्यले समेत सार्वजनिक गरे । तर, चर्को आलोचना हुन थालेपछि मन्त्री अर्यालले आफु म्यानपावर व्यवसायमा संलग्न नरहेको दाबी गरेका हुन् ।
चर्को आलोचनापछि स्पष्टिकरण दिँदै श्रममन्त्री अर्यालले आफु विभिन्न व्यवसायमा भए पनि म्यानपावरमा नभएको बताएका हुन् । ‘हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौँ है भनेर ‘इन्टरनेशनल मार्केटिङ डाइरेक्टर’को पद लेखिदिए तर हटाइदिन भुले ।’– उनले स्पष्टिकरणमा लेखेका छन् ।
वैदेशिक रोजगारीको आवरणमा अकुत सम्पत्ति कमाएको आरोपमा अर्यालमाथि सम्पत्ति सुद्धिकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन सुरु गरेको थियो । हाल पनि मन्त्री बनेका अर्याल छानबिनकै क्रममा रहेको स्रोतको दाबी छ ।
अर्याल सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेज प्रालीका लगानीकर्तामात्र होइनन्, बरु ओभरसिजको आधिकारिक वेबसाइटमा अन्तराष्ट्रि बजार निर्देशक पदमा रहेको उल्लेख गरिएको थियो । तर, हाल सो वेबसाइट नखुल्ने बनाइएको छ ।