काठमाडौं । सरकारले उखुको मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । उखुको मूल्य प्रतिक्वीन्टल ५४० रुपैयाँ तोकेको छ भने उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
उनका अनुसार सरकारका प्रवक्तामा सूचना तथासञ्चार मन्त्री रेखा शर्मालाई तोकिएको छ । अर्को बैठकदेखि शर्माले नै मन्त्रिपरिषद्को निर्णय सुनाउनेछिन् । त्यसैगरी बैठकले दुईजना सचिवको पनि सरुवा गरेको छ ।
त्यसैगरी बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ता भित्र कार्ययोजना निर्माण गरी मन्त्रिपरिषद् बैठकमा पेस गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले नेपाल सरकारले प्रदान गर्ने विभुषणको स्पष्ट मापदण्ड तय गर्नका लागि समिति बनाउने निष्कर्ष पनि निकालेको छ ।
यसैगरी बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।