काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको संसदीय अभ्यासमा नयाँ भनिनेहरुको असली तस्बिर पनि छर्लंग भएको बताएका छन् ।
बिहीबार संसद्मा बोल्दै केसीले भने, ‘संसदको चित्र डरलाग्दो छ । संसारमा धेरै ठाउँमा संसदको अभ्यास देखिएको छ। नेपालमा पनि संसदको अभ्यास अहिले देखिएको छ ।’
केसीले संसदमा हलो काट्न हिँडेका सात भाइको उदाहरण पेस गरे । ‘एक पटक हलो काट्ने भनेर सात भाइ बञ्चरो बोकेर गएछन् । भिरमा रुख रहेछ । दुई भाइले कम्मरमा डोरी बाँधेर रुख माथि तान्ने निर्णय गरेछन् र पाँच भाइले फेदमा काट्न थालेछन्’, उनले भने, ‘पाँच भाइ रुखसँगै तल खसे । बाँधेर बसेका पनि उनीहरु राम्रो काठ रोज्न गए भए भनेर हतारहतार रुखसँगै गएछन् । अहिले यस्तै भयो ।’
अहिले हलो काट्न गएका सात भाइको हालत सबै दलको भएको दावी उनले गरे। केसीले आगामी दिन झन डरलाग्दो रहेको भन्दै अहिले पनि प्रतिगमन कायमै रहेको बताए।
‘सरकार बन्नु अघि ठूलो कुरा गरेकाहरु सरकार बनेपछि कसको कस्तो रेकर्ड आयो। गृहमन्त्रीको कस्तो छ,’ उनले भने, ‘सहरी विकास मन्त्रीको कसरी आइरहेको छ।’
मुलुक अहिले अप्ठारोमा परेको भन्दै सत्ताका लागि इमान जमान र जनतासँग गरेको कबोल पनि पूरा गर्न नपर्ने देखिएको उनको टिप्पणी छ । उनले सत्ताका लागि सिद्धान्त समेत गुमाएको आरोप लगाए । यही मौकामा शक्ति केन्द्रले खेलेको उनको आरोप छ ।