लालबन्दी, सर्लाही — मधेसमा संवाद सुमधुर बनाउन भन्दै एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा गृह जिल्ला इलामबाट मात्र होइन, सर्लाही–१ बाट पनि उम्मेदवारी दिए । सर्लाहीको चुनावी प्रचारमा उनी रानीगन्ज पुगे, जहाँ सर्पदंशबाट मृत्यु भएका बालकको परिवारमा रुवाबासी चलिरहेको थियो ।
सर्लाहीको लालबन्दी–१ मा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्प पालन गर्न खरिद गरेको जग्गा । झन्डै १० बिघा जमिन अहिले चरन क्षेत्र बनेको छ ।
समयमा भ्याक्सिन नपाएर बालकको मृत्यु भएको खुलेपछि खनालले त्यही घोषणा गरे– सर्पले टोकेमा भ्याक्सिन नपाएर मृत्यु हुने अवस्था अन्त्य गरिनेछ ।
इलाममा खनाल विजयी भए पनि सर्लाहीमा पराजित भए । तर, राष्ट्रिय राजनीतिमा खनालको प्रभाव थियो, उनको दल सुशील कोइराला नेतृत्वको सरकारमा गयो । चुनावपछि जिल्लास्तरीय नेता खनाललाई भेट्न काठमाडौं पुगे । एमालेका तत्कालीन सर्लाही अध्यक्ष रेवती पन्त सम्झन्छन्, ‘सर्पको टोकाइबाट बालकको मृत्यु भएको घटनाले झलनाथ कमरेडको मस्तिष्कमा गहिरो छाप परेको रहेछ, समयमै उपचार नपाउने अवस्था अन्त्यका लागि के गर्न सकिन्छ भनेर छलफल भयो ।’
नेपालमै पहिलो पटक एन्टिस्नेक भेनम (एएसभी) उत्पादन गर्न पहल सुरु गर्ने निर्णय भयो । त्यसमा खनालको पहल हुने भएकाले पन्तसहितको टोलीले संस्था पनि दर्ता गर्यो– झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान ।
‘एन्टिस्नेक भेनम’ उत्पादन गर्ने काम आफैंमा महत्त्वपूर्ण थियो । तर, नेताले आफ्नै नाममा प्रतिष्ठान खोलेको भनेर आलोचना पनि भयो । काम पनि विवादित हुँदै गएपछि संस्था अहिले अलपत्रजस्तो छ । जबकि १९ करोड खर्च भइसकेको छ । विवाद बढ्दै गएपछि गत साउनमा संस्थाको नाम नै परिवर्तन गरिएको छ । अब यसको नाम हो– राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद् ।
केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला प्रतिष्ठानलाई ७२ करोड दिने सम्झौता भएको थियो । ‘७२ करोड रुपैयाँ झलनाथ खनालले लग्यो भन्ने हल्ला भयो । कसैले पनि यथार्थ बुझ्न खोजेनन्, राम्रो कामका लागि खोलिएको संस्था भए पनि धेरै बदनामी कमाइयो,’ पन्त भन्छन्, ‘अफवाह फैलिएपछि संस्थाको नाम परिवर्तन गर्नुपरेको हो ।’
नाम जे भए पनि काम कस्तो हुने भन्ने प्रश्न मुख्य थियो । परिषद्का अध्यक्ष पन्तका अनुसार २०७१ सालमा स्थापना भएको संस्थालाई सरकारले हालसम्म १९ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ, यो रकम खर्च भइसकेको छ । तर, सर्प पालनको योजना कहिलेबाट सुरु हुने प्रस्ट छैन । प्राप्त रकम डीपीआर, जग्गा खरिद, अध्ययन अनुसन्धानमा खर्च भएको उनको भनाइ छ ।
करिब ७ करोड खर्चेर लालबन्दी नगरपालिका–१ मा प्रतिष्ठानले जग्गा खरिद गरेको छ । नवलपुर चोकदेखि डेढ किलोमिटर उत्तर नन्देश्वर सामुदायिक वन क्षेत्र नजिकै खरिद गरिएको झन्डै १० बिघा जमिन अहिले भैंसी चरनमा उपयोगी बनेको छ । ‘कार्यालय र भेनम उत्पादनका लागि चाहिने जग्गा र संरचना बनाउनुपर्ने भएकाले साढे ९ बिघा जमिनसहित १० कट्ठा ऐलानी जग्गा लिएका हौं,’ पन्त भन्छन् ।
संस्थाको जग्गामा कम्पाउन्ड वाल निर्माणका लागि पिल्लर ठड्याइएको छ, त्यो पनि अपूरो देखिन्छ । २२ वटा भवन बनाउने योजना भए पनि ४ वटा भवन निर्माण गर्न ३४ करोडमा ठेक्का लगाइएको छ तर भवनको जगसमेत खनिएको छैन । शर्मा एन्ड धुलिखेल जेभीले निर्माणको ठेक्का पाएको थियो । ‘कम्पाउन्ड वाल निर्माण तथा अन्य काममा ६ करोड खर्च भएको भन्दै भुक्तानीका लागि बिल आएको थियो तर सन्तोषजनक काम नदेखिएपछि हामीले रोकेका छौं,’ पन्तले भने । यसरी राज्यको पैसा खर्च भइसकेको छ भने परियोजना अलपत्र छ ।
परिषद्ले अस्पताल, प्रयोगशाला, प्रशासनिक भवन र सर्प पालन भवन निर्माणको लक्ष्य राखेको छ । एन्टिभेनम उत्पादन, परीक्षण र अध्ययन गर्ने केन्द्र यही क्षेत्रभित्र बनाउने भनिएको छ । तर, बजेट अभावले काम अघि बढ्न नसकेको पन्तले बताए ।
प्रतिष्ठानले तयार गरेको गुरुयोजनामा साढे ३ अर्बको लागतमा नेपालमै एन्टिभेनम उत्पादन सम्भव हुने उल्लेख छ । ओली नेतृत्वको सरकारले ७२ करोड दिने घोषणा हुँदा केन्द्र सरकारले ४० प्रतिशत र प्रदेश सरकारले ६० प्रतिशत बजेट बेहोर्ने भनिएको थियो । आर्थिक वर्ष ०७६/७७ मा केन्द्रले ६ करोड बजेट पठाएको थियो । प्रदेश सरकारले उक्त रकममा ६० प्रतिशत थप गरेर पठाइदिनुपर्नेमा प्रदेशका मन्त्रीहरूबाट कमिसन माग भएपछि बजेट रोकिएको पन्त बताउँछन् । ‘प्रदेश मन्त्रीले नै कमिसन मागेपछि बजेट फ्रिज भयो,’ उनले भने, ‘पहिलो किस्ताबाहेक अर्को किस्ताको बजेट आएकै छैन ।’
स्थानीय सरकारबाट समेत वार्षिक एक करोड रुपैयाँ दिने सम्झौता भएको थियो । तर, लालबन्दी नगरपालिकाले सम्झौताको ५ करोड भुक्तानी गर्नै बाँकी रहेको पन्त बताउँछन् । परिषद्मा हाल चार जना कर्मचारी छन् । तिनकै तलबमा मासिक डेढ लाख खर्च हुने गरेको छ । ‘कार्यालयको मासिक भाडा नै ५० हजार छ,’ अध्यक्ष पन्तले भने ।
परियोजना व्यवस्थित रूपमा सञ्चालन भए स्वास्थ्य क्षेत्रका लागि ठूलै उपलब्धि हुने हो । किनकि नेपालमा हरेक वर्ष सर्पदंशबाट ३ हजार मानिसको मृत्यु हुने गरेको गत फेब्रुअरीमा प्रकाशित अनुसन्धानले देखाएको छ ।
के हो एन्टिस्नेक भेनम ?
सर्पको विषविरुद्ध लड्न सक्ने गरी तयार गरिएको औषधि हो एन्टिस्नेक भेनम (एएसभी) । यसले सर्पदंशबाट लाग्ने विषविरुद्ध लड्न मद्दत गर्छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर एवं सर्पदंश उपचारका विज्ञ डाक्टर सञ्जीवकुमार शर्मा भारतबाट ल्याइएका पनि प्रभावकारी छैन । ‘भारतबाट आएको एएसभीको रियाक्सन रेट धेरै हुन्छ । औषधि ठ्याक्कै प्रभावकारी नभएकाले साइड इफेक्ट हुन्छ,’ डा. शर्माले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रतिवेदनअनुसार सर्पका विष तीन खालका छन् ः न्युरो टक्सिन, हेमाटोटक्सिन र साइटोटक्सिन । ‘मोनोभ्यालेन्ट–एएसभी निश्चित सर्पले टोकेको अवस्थामा लगाइन्छ । पोलिभ्यालेन्ट एएसभी धेरै खालको सर्पले टोकेमा प्रयोग गरिन्छ,’ शर्माले भने, ‘भारतबाट पोलिभ्यालेन्ट एएसभी मात्रै ल्याउने गरिएको छ ।’ पोलिभ्यालेन्ट एएसभी चार प्रकारका विषालु सर्पबाट निकालिएका हुन्, पाउडरमा रहने त्यसलाई १० एमएलको स्टेराइल पानीमा घोलेर घाइतेमा चढाइन्छ । ‘सामान्यतः हामी १० भाइलमा सय एमएल पानी हालेर चढाउने गरेका छौं,’ डाक्टर शर्माले भने । बालबालिका र वयस्कमा चढाइने एन्टिस्नेक भाइलको मात्रा एउटै हुन्छ ।
सरकारी प्रतिवेदनमा एउटा घाइतेलाई औसत १२ भाइल एन्टिस्नेक भेनम प्रयोग गरिन्छ । यद्यपि केही घटनामा २० देखि ३० भाइलसम्म प्रयोग भइरहेको छ ।नेपालमा प्रयोग गरिने एन्टिभेनम दक्षिण भारतमा पाइने विषालु सर्पबाट निकालिएका हुन् । त्यहाँ पाइने गोमन, करेत, रुसेल्स भाइपर र स–स्केल्ड भाइपर प्रजातिबाट निकालिएको विषबाट एन्टिस्नेक भेनम बनाइन्छ । यद्यपि नेपालमा स–स्केल्ड भाइपरले टोकेका घटनाहरू कम छन् ।
सर्पविज्ञ एवं प्राध्यापक करनबहादुर शाह एउटा भूगोलमा पाइने सर्पबाट निकालिएको विषबाट बनाइने एन्टिभेनमको प्रभावकारिता अर्को क्षेत्रमा प्रयोग गर्दा कम हुने बताउँछन् । उनका अनुसार एएसभी उत्पादनका लागि विषालु सर्प पालन आवश्यक हुन्छ । यसका लागि सर्पको खोजी गर्ने, रेखदेख गर्ने, उत्पादन गर्ने, सुरक्षा संवेदनशीलता, स्वास्थ्योपचार, भौतिक संरचनाको आवश्यकता हुनुपर्छ ।



