विराटनगर — कोसी अस्पतालको आकस्मिक कक्षका डा. आकाश यादवले जीवित शिशुलाई मृत घोषणा गरेपछि बुधबार दिनभरि अस्पताल परिसर तनावग्रस्त रह्यो । मृत घोषणा गरिएकी शिशुको अहिले कोसी अस्पतालभन्दा सय मिटर टाढाको गोल्डेन अस्पतालको एनआईसीयूमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार ती शिशुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
गत पुस १७ मा उमा मुखियाले १ किलो ४ सय ग्रामकी ती शिशुलाई कोसी अस्पतालमै जन्म दिएकी थिइन् । श्वासप्रश्वासमा समस्या देखिएपछि मोरङको जहदा गाउँपालिका–३ भाथिगछकी १८ दिनकी शिशुलाई उपचारका लागि बुधबार बिहान अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको थियो । त्यहाँ मेडिकल अफिसर यादवसहित अहेवद्वय टीका भण्डारी र लक्ष्मण माझीले शिशुलाई मृतक घोषणा गरेपछि अस्पतालमा तनाव भएको हो । चिकित्सक यादवलाई शिशुका आक्रोशित आफन्तले कुटपिट गरेका छन् । उनको टाउकामा चोट लागेको छ ।
‘इमर्जेन्सीमा ल्याइएपछि डा. यादवले छोरीको स्वास्थ्य जाँच गरेका थिए,’ शिशुका पिता दिलीप मुखियाले भने, ‘चिकित्सक यादवले शिशुको सास छैन, मुटु चलेको छैन भन्दै लैजान सुझाव दिए ।’ मुखियाका अनुसार त्यसपछि बच्चालाई अस्पतालको बेडबाट बोकेर बाहिर लैजाँदा शिशुले हातखुट्टा चलाएपछि ऊ जीवितै रहेको पुष्टि भएसँगै आक्रोशित परिवारजनले चिकित्सकमाथि हातपात गरेका हुन् । उनले लापरबाही गर्ने चिकित्सकमाथि कडा कारबाहीको माग गरेका छन् ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. लक्ष्मीनारयण यादवले शिशुको उपचारमा संलग्न आकस्मिक कक्षका टोलीलाई सोधपुछ गर्दा मुटुको चाल बन्द हुनुका साथै सास रोकिएको र दुवै आँखा बन्द भएको अवस्थामा आफूहरूले मृत घोषणा गरेको प्रस्टीकरण दिएको बताए । ‘नवजात शिशुमा हुने एक प्रकारको मेडिकल कन्डिसन एपनियाले पनि कहिलेकाहीं १५–२० सेकेन्ड मुटुको चाल र श्वास बन्द गराउँछ,’ यादवले भने, ‘ती शिशुमा पनि त्यही भएको हुन सक्छ, थप बुझ्ने काम भइरहेको छ ।’
मेडिकल सुपरिन्टेन्डेन्ट यादवले चिकित्सकको लापरबाही पुष्टि भएमा उनीहरूमाथि हदैसम्मको कारबाही हुने बताए । चिकित्सकमाथि आक्रमण गर्ने मन्नु मुखिया र मनोज मुखियालाई प्रहरीले नियन्त्रणमा लिए पनि अस्पताल प्रशासन तथा पीडित पक्षबीच सहमतिपछि माफी मगाएर छाडिएको मेसु यादवले बताए ।
घटना छानबिन गर्न समिति गठन
कोसी अस्पतालको आकस्मिक कक्षका चिकित्सकले १८ दिनकी शिशुलाई मृत घोषणा गरेपनि उनी जीवितै रहेको घटनाको अनुसन्धानका लागि अस्पताल प्रशासनले बिहीबार बालरोग विशेषज्ञ डा. प्रविण झाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिमा अर्का बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र अस्पताल प्रशासनका अधिकृत रामप्रसाद नेपाल सदस्य छन् । समितिलाई एक साता भित्र प्रतिवेदन बुझाउन म्याद दिइएको समितिका संदस्य तथा अस्पतालका सूचना अधिकारी समेत रहेका रामप्रसाद नेपालले बताए ।
यसैबीच जीवित शिशुलाई मृत घोषणा गर्ने आकस्मिक कक्षका मेडिकल अफिसर डा. आकाश यादवसहित अहेवद्वय टीका भण्डारी र लक्ष्मण माझीलाई पनि अस्पताल प्रशासनले २४ घण्टा भित्रमा स्पष्टिकरण बुझाउन निर्देशन दिँदै छानबिन समितिले प्रतिवेदन नबुझाएसम्म काममा रोक लगाएको नेपालले बताए ।



