Wednesday, January 15, 2025
समाजस्वास्थ्य चौकीले चालक राख्न नसकेपछि नि:शुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य

स्वास्थ्य चौकीले चालक राख्न नसकेपछि नि:शुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य

गुल्मी – गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आएका छन् । उनले ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गएकाे फागुनदेखि निःशुल्क चलाउँदै आएका हुन् ।

गएकाे वैशाखमा वडा सदस्यमा निवार्चित भएपछि थापाले एम्बुलेन्स चलाउँदै आएका छन् । स्वास्थ्य चौकीले मासिक तलब दिएर चालक राख्न नसकेपछि उनले समाजसेवीको रुपमा विना तलब एम्बुलेन्स चलाउन थालेका हुन् । लामो समयसम्म वैदेशिक रोजगारीमा रहेका वडासदस्य थापा विदेशबाट फर्केपछि पनि आफ्नो सिपअनुसार वडामा सेवा गरिरहेका छन् ।

चालक राख्न नसकेपछि एम्बुलेन्स बेकामे भएर थन्किएकाले आफूमा सेवाको भावना जागेको उनले जानकारी दिए । त्यही सेवाभावका कारण गएकाे पालिका चुनावमा उनले नेपाली कांग्रेसबाट वडा सदस्यको टिकट पाएका हुन् । निवार्चित भएपछि पनि थापाले थप जिम्मेवारी महसुस गरी एम्बुलेन्स चालकको कामलाई निरन्तरता दिए ।

पछिल्लो समय ग्रामीण भेगका स्वास्थ्य चौकीमा एम्बुलेन्सको व्यवस्था भए पनि चालक राख्न कठिनाइ भइरहेको छ । त्यही समस्यामा रहेकाे मालिकाको विकट मानिने ह्वाङदी स्वास्थ्य चौकीलाई वडासदस्य थापाले राहत दिलाएका छन् ।

वडा सदस्यको कार्यकाल रहुन्जेल पाँच वर्षसम्म निःशुल्क एम्बुलेन्स चलाएर सहयोग गर्ने उनले बताए । ‘समाजसेवा गर्ने हो, माध्यम जस्तो पनि हुनसक्छ’, वडासदस्य थापाले भन्नुभयो, ‘स्वास्थ्य संवेदनशील कुरा हो, नचलेको एम्बुलेन्स निःशुल्क चलाएर सहयोग गरेको छु ।’

उनले वडासदस्यको हैसियतमा वडाबाट पाउने सेवासुविधा लिएर काम गरिरहेका छन् । आफूले पाँच वर्षसम्म वडासदस्यको भूमिकासँगै निःशुल्क एम्बुलेन्स चलाएर सहयोग गर्ने थापाले बताए । उनको कामलाई वडावासी सबैले प्रशंसा गरिहहेका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img