म्याङलुङ । तेह्रथुमको आठराई–६ चुहानडाँडाको हातिखर्कमा आगलागीबाट हालसम्म १४ घर जलेको गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए । अहिलेसम्म मानवीय क्षति भने नभएको उनले बताए ।
उनले आगो अहिले पनि नियन्त्रण बाहिर रहेको भन्दै पालिकाको टोलीसहित आफूहरु घटनास्थलमा रहेको बताए । सुख्खाग्रस्त क्षेत्र भएको कारण आगो निभाउन कठिन भएको बताउँदै उनले भने, ‘सडक यातायातमार्फत दमकल आधा घण्टामा आइपुग्ने जानकारी पाएका छौं, तर दमकल जान नसक्ने ठाउँमा आगलागी भएको छ ।’
उनका अनुसार सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छन् ।
शनिबार दिउँसो करिब १ बजेबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो । सो वडाका वडाध्यक्ष कृष्ण बास्कोटाका झाडीजंगल धेरै रहेको हुँदा आगो नियन्त्रणमा कठिनाइ भएको छ ।
आगो निभाउन खटिएका चुहानडाँडा प्रहरी चौकीका प्रमुख असई विष्णुप्रसाद पिठाकोटेका अनुसार गाउँको पुछारमा रहेको फक्चुवाखोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किएको थियो । सो आगो हात्तिखर्क गाउँको बस्तीसम्म फैलिएको उनले बताए ।