मकवानपुर: राष्ट्रिय भूमि आयोग मकवानपुरले जिल्लामा ३६ हजार एक सय ६८ जना भूमिहीन सुकुम्वासी रहेको जनाएको छ ।
आयोगले पत्रकार सम्मेलन गरी हेटाैँडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ गाउँपालिका गरी १० वटा पालिकामा उक्त सङ्ख्यामा भूमिहीन सुकुम्वासी रहेको जानकरी दिएको हो ।
मकवानपुरमा १० वटै स्थानीय तहमा तीन सय ७९ जना भूमिहीन दलित, दुई हजार चार सय ६३ जना भूमिहीन सुकुम्वासी तथा ३३ हजार तीन सय २६ जना अव्यवस्थित भूमिहीन बसोबासी रहेको र उनीहरुले जग्गा प्रमाणपत्रका लागि आयोगमा दर्ता गरेको आयोगको भनाइ छ ।
आयोगका मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहीनहरुको जग्गा प्राप्तिसम्बन्धी दर्ता भइसकेकोले उनीहरुले एक वर्षभित्र नै जग्गा प्रमाणपत्र लालापुर्जा प्राप्त गर्ने बताए ।
जिल्लाको बागमती गाउँपालिकाका तीन भूमिहीन दलितले लालपुर्जा प्राप्त गरिसकेको उल्लेख गर्दै बाँकी त्यहाँको ३० जनाको जग्गा प्राप्त गर्ने प्रक्रिया सुरु भएको जानकारी दिए ।
आयोगका सदस्य सचिवसमेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले आयोगको काम र अधिकारबारे जानकरी दिँदै पहिलो चरणमा भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा दिइने बताए । यसकार्यमा सबैको सहयोग आवश्यक हुने उनको भनाइ छ ।