मकवानपुर: राक्सिराङ गाउँपालिका जनताको घरघरमा पुगेको छ। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहित कर्मचारीको टोलीनै जनताको घरघरमा सेवा दिन पुगेका हुन् ।
गाउँपालिकाले प्रदान गर्ने सेवाहरुमा सहज पहुँच नभएर बन्चितिमा परेका विकट भेगका बासिन्दाहरुलाई लक्षित गर्दै राक्सिराङ्ग गाउँपालिकाले फागुन २९ गते , चैत्र ६ गते, चैत्र १४ गते र चैत्र २२ गते गरि ४ दिन शिविर संचालन गरेको थियो । शिविरमा स्वास्थ्य सेवा, कृषि बिउ बिजन बितरण, पशु औषधि वितरण, आयुर्वेद सेवा, गरिव परिचय पत्र वितरण सेवा र ज्येष्ठ नागरिक, अशक्त तथा हिँड्न नसक्ने बिरामीहरूको घरघरमै पुगी स्वास्थ्य जाँच र निःशुल्क औषधिको समेत व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए।
गाउँपालिकाले संचालन गरेको एकीकृत शिविरमा १४ सय ४५ जानाले स्वास्थ्य सेवा लिएका छन । त्यस्तै ७ सय ६२ जनालाई आयुर्वेद सेवा प्रदान गरिएको छ । ६ सय ५३ जनालाई कृषि बिउ बिजन वितरण गरिएको र ७ सय ८ जनालाई पशु औषधि वितरण गरिएको गाउपालिकाका सुचना अधिकृत अन्जन हटुवालले जानकारी दिए ।
घर घरमा गई ३१ जना ज्येष्ठ नागरिकलाई सम्मान तथा प्रशामक सेवा दिइएको छ । १५ जनाले अपाङ्गता सम्बन्धित सेवा लिएका छन । शिबिरमा २६१ जनालाई गरिव परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले फागुन २९ गते ४ नम्बर वडा कार्यालय, चैत ६ गते ९ नम्बर वडा कार्यालय डन्टार, ६, ७ र ८ नम्बर वडाका लागि राक्सिराङ ७ स्थित जुरेथुममा चैत १४ गते र चैत २२ गते वडा नम्बर १ र २ का लागि राक्सिराङ १ दुंगुमा एकीकृत शिविरको आयोजना गरेको थियो।
कार्यक्रमअन्तर्गत पालिकाभित्रका १७ वटा कृषक समूहलाई हाते ट्याक्टरसमेत वितरण गरिएको छ । गाउँपालिकाले बिजुली बत्ती नपुगेका ठाउँमा झन्डै ६० भन्दा बढी परिवारलाई सोलार सेटसमेत घरमै पुर्याइदिएको छ।
गाउँपालिकाले अभियानबाट धेरै स्थानीयलाई सेवा प्रदान गर्न सकिएको निष्कर्षसहित निरन्तरता दिने जनाएको छ। आगामी वर्ष प्रत्येक वडा तथा टोलमा पुगी एकीकृत शिविर सञ्चालन गर्नेगरी योजना बनाइएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए।