उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) धराशायी भएको भन्दै स्थानीयवासीले ‘बचाऊ अभियान’ थालेका छन्।
त्रियुगा नगरपालिका ६ जलजले स्थित रहेको पूर्ण सरकारी स्वामित्वको उद्योग पछिल्लो २ वर्षयता एकपछि अर्को गर्दै टाट पल्टाएको भन्दै स्थानीयले उद्योग बचाउन अभियानको सुरुवात गरेका हुन्।
अभियानको पहिलो दिन सोमबार बिहानदेखि उद्योगको मूल प्रवेश द्वार अगाडि भेला भएका उद्योग प्रदूषण क्षेत्रका स्थानीयवासीले विभिन्न माग लेखिएको प्लेकार्ड र नारासहित धर्ना दिएका छन्। गेटै अगाडिको वर-पीपल गाछी चौतारामा धर्ना बसेका स्थानीयवासीले उद्योगलाई यो हालतमा पुर्याउने प्रत्यक्ष तथा अप्रत्यक्ष दोषीहरूलाई साङ्केतिक विरोध गरेका हुन्।
‘उद्योग छेउको बास, प्रदूषणको रास, हराभरा समाजको कहिले गर्ने आस?’, लुट्नसम्म लुट्यौ लुटेरा हो अव छैन छुट, स्थानीय जागिसके पर्दाफास गर्न तिम्रा ब्रम्हलुट’ लेखिएको ब्यानर छातीमा टाँसेका धर्नाकारीहरूले ‘उद्योगकै कमाइले घर गोठ बनायौ, जाने बेला उद्योगलाई रित्तिनबाट खोइ जोगायौ?’ उल्लेखित प्लेकार्ड पनि हात हातमा बोकेका थिए।
उद्योग आसपासका जलजले, देउरी, श्रीपुर, दमौटी, लालपत्ता, बगाहा, चुहाडे, सुकौरा, चिलाउने लगायत प्रदूषण क्षेत्रको बढी जसो जमघट रहेको धर्ना कार्यक्रममा गाईघाट बजारवासी सचेत नागरिकहरूको पनि सहभागिता रहेको थियो।
धर्नामा सहभागीमध्येका एक त्रियुगा नगरपालिका ६ का वडा सदस्य प्रवेश खड्काले ६७ जनाको समूह धर्नामा बसेको बताए। सदस्य खड्काका अनुसार धर्नासँगै भएको भेलाले त्रियुगा ५ श्रीपुरका राधारमण खतिवडाको संयोजकत्वमा २७ सदस्यीय ‘उदयपुर सिमेन्ट उद्योग बचाऊ खबरदारी समिति’को गठन गरेको छ।- पुरा पढ्नुहोस्