काठमाडौं: टिकापुर हत्या काण्डमा जेल जिवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी छुटेका छन् ।
काठमाडौंस्थित डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका पूर्वसांसद समेत रहेका चौधरीलाई गणतन्त्र दिवसरको अवसर पारेर राष्ट्रपतिले आम माफी दिएसँगै उनी ६ वर्षपछि आज रिहा भएका हुन् ।
उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतम लगायत नेता कार्यकर्ता, शुभेच्छुक बाजागाजा र फुलमालासहितकारागार पुगेका थिए ।
टीकापुर घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका चौधरीसहित विभिन्न मुद्दाका १९ जना बन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार आम माफी दिएका थिए ।
राष्ट्रपतिले थप ४ सय ८२ जना कैदी बन्दीको सजाय पनि मिनाहा गरेका छन् । टीकापुर घटनामा भने रेशमलाई मात्रै माफी दिइएको छ । टीकापुर घटनामा दोषी ठहर भएका रेशमसहित ५ जना हाल कारागारमा छन् ।
रेशम काठमाडौंमा छन् भने प्रदीप चौधरी, हरिनारायण चौधरी र वीरबहादुर चौधरी कैलालीमा कारागारमा र नाबालक श्रवण चौधरी पोखरा सुधार गृहमा छन् ।