Friday, December 6, 2024
समाजगाई काटेको आरोपमा ५ जना पक्राउ

गाई काटेको आरोपमा ५ जना पक्राउ

मकवानपुर: गाई काटेको आरोपमा मकवानपुर प्रहरीले बकैया गाउँपालिकाबाट पाँच जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ बकैया–५ स्थित तीनतलेबाट गाई काटेर भाग लगाइरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा तीन जना महिला र दुई जना पुरुष रहेका छन् । सोही ठाउँका ३० वर्षीय जयराम स्याङ्तान, ४८ वर्षीय दिनेश थिङ, ५५ वर्षीया माइली थिङ, ६३ वर्षीया साइली माया गोले र ४८ वर्षीया सपना स्याङ्तान रहेका छन् । शुक्रबार साँझ गाई काटेको भनी विशेष सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिएर करिब ४० केजी गाईको मासुसहित उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए । शुक्रबार नै उनीहरुविरुद्ध गाई काटेको अभियोगमा मुद्दा दर्ता भएको उनले बताए । पक्राउ परेकामाथि म्याद थपेर थप अनुसन्धान भइरहेको उनले बताए । बरामद गरिएको गाईको मासु परीक्षणका लागि पठाइएको उनले बताए । अभियोग पुष्टि भएमा करिब ३ वर्षको जेल सजाय हुन सक्ने व्यवस्था रहेको उनले जानकारी दिए ।

यता तामाङ घेदुङले भने मरेको गाईलाई खाल्डो खनी व्यवस्थापन गरिरहेका स्थानीयलाई नियोजित रुपले प्रहरीले पक्राउ गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिका अध्यक्ष लिलाकुमार घलानले ध्यानाकर्षण भएको जनाएको हो । आदीबासी जनजाति समुहलाई लक्षित गरी विभिन्न आरोप लगाउँदै फसाउने नियत निन्दनीय भएको विज्ञप्तीमा उल्लेख छ । पक्राउ परेका सबै जनालाई तत्काल बिना सर्त रिहा गर्न भनिएको छ भने अन्यथा संघ देशव्यापी रुपमा कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

दुई वर्ष अगाडि पनि बकैया–११ बाट गाई काटेको आरोपमा मकवानपुर प्रहरीले १० जना पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये ९ जनालाई जिल्ला अदालत मकवानपुरले जनही ४०–४० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । पक्राउ परेका एक जना भने बालक भएका कारण छाडिएको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img