मकवानपुर: भन्सार छली भारतबाट ल्याएको करिब डेढ करोड मूल्य बराबरको ९० बोरा कपडासहित २ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहाबाट हेटौँडातर्फ आउँदै गरेको बी आर ०६ जी ई ५०५३ नम्बरको भारतीय ट्रकलाई हेटौँडाको रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ट्रकमा चारैतिरबाट प्याजको बोराहरुले छोपी बिचमा ९० बोरा कपडा लुकाएर ल्याएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
कपडाको मूल्य १ करोड ५५ लाख ६ सय ९७ रुपयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चालक भारतीय नागरिक रजौद सिंह र सहचालक सुधीर कुमार प्रहरीको नियन्त्रणमा रहेको र ट्रकसहित कपडाहरु थप अनुसन्धानका लागि राजस्व कार्यालय हरिहर भवन लतितपुर पठाइने प्रहरीले जनाएको छ ।



