मकवानपुर: बागमती प्रदेश सरकारले प्रमुख प्रतिपक्षी र प्रतिपक्षीका योजनालाई पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको बैठकले ४ निर्णय गरेको हो ।
निर्णयमा प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षीहरूसँग सहमति भए अनुसार प्रतिपक्षीहरूको छुट्न गएका योजनाहरू समावेश गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
बजेटमा सत्ता पक्षले एकलौटी गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रतिपक्षी राप्रपा र सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले विरोध गर्दै आएका थिए । प्रमुख प्रतिपक्षी र प्रतिपक्षीले प्रदेश सभा बैठक नै अवरोध गर्दै आएपछि प्रदेश सरकारले योजना समेट्न सहमत भएका हुन् । प्रदेशको बजेटको विषयमा प्रदेश सभामा छलफल पनि सुरु भएको छ ।
यस्तै बागमती प्रदेश सरकारले पहिलोपटक प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १५ को उपदफा १ बमोजिम डा. चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई प्रदेश प्रशासन सेवा, एघारौं तहमा बढुवा गरेको छ । प्रदेश सरकारले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना, हेटौँडा र पर्यटन विकास आयोजना, इकाई कार्यालय, काठमाडौँको २०८० श्रावणदेखि २०८२ आषाढ मसान्तसम्म २ वर्षका लागि म्याद थप्ने निर्णय गरेको छ ।
दोलखा जिल्लाको जिरी नगरपालिकामा सञ्चालन हुने मानवनिर्मित पर्यटकीय ताल निर्माण आयोजनाका लागि सो नगरपालिकामा जग्गा प्राप्ति ऐन २०३४ को उपदफा क बमोजिम करिब ५४१.२३ रोपनी व्यक्तिगत जग्गा प्राप्ति गर्न जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, दोलखाका प्रमुखलाई जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक कारबाही चलाउन जिम्मेवारी तोकिएको छ ।



