दैलेख: दैलेखको महाबु गाउँपालिका–२ डुङ्ग्रीमा जङ्गली विषालु च्याउ खाँदा एकै घर चार जना बालबालिका बिरामी परेका छन् । हिजो जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका महाबु गाउँपालिका–२ का वडा सदस्य पशुपति सुनारले बताए ।
च्याउ खाएर १८ वर्षीय गणेश विक, १४ वर्षीय धर्मराज विक, १० वर्षका तिलक विक र १६ वर्षीया भगवती विक बिरामी परेका हुन् । दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरुलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको दैलेख अस्पतालका डा.सुशीला कटुवालले जानकारी दिए ।
बुबा मानबहादुर विक र आमा कौशिला विक घाँसपात गर्न गएको बेला पकाइराखेको च्याउ खाँदा उनीहरु चारै जना बिरामी परेका हुन् । च्याउ खाएकामध्ये तिलकको अवस्था गम्भीर रहेको डा. कटुवालले बताए ।