Sunday, February 16, 2025
समाजसाउन महिनामा भक्तजनको भीड लाग्ने प्रसिद्ध शिवालयहरू

साउन महिनामा भक्तजनको भीड लाग्ने प्रसिद्ध शिवालयहरू

काठमाडौं: हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ । साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ।

ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ। अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ। हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ।

साउने सोमवारका दिन देशभरिका शिवालायहरूमा भक्तजनको भीड लाग्छ। साउन महिनालाई भगवान् शिवको महिनाका रूपमा लिइन्छ । यो महिना भगवान् शिवलाई खुसी पार्न सके अविवाहित महिलाहरूले भने जस्तै श्रीमान् पाउने जनविश्वास छ । पछिल्लो समय महिला मात्र नभएर पुरुषहरूले पनि यो महिना शिवको आरधना गर्ने चलन बढ्दै गएको छ । साउनको सोमबारलाई विशेष दिनका रूपमा हेरिन्छ । यो दिन नदी किनाराबाट जल लिएर शिवलिंगमा चढाउने चलनसमेत छ ।

माइधाम: झापास्थित माइधाम पूर्वको चर्चित शिवालय हो । साउन महिनामा माइ नदीको तीरमा अवस्थित यो धाममा माइ नदीको जल चढाइन्छ ।

पिण्डेश्वर: साउने सोमबारका दिन जल चढाउने महत्वपूर्ण तीर्थका रूपमा धरानस्थित पिण्डेश्वर धाम पनि हो । यहाँ पूर्वी नेपालका मात्र नभएर भारतको पश्चिम बंगाल, सिक्किमदेखि दार्जीलिङसम्मका भक्तजनको भीड लाग्छ । चतराबाट कोसीको जल बोकेर पिण्डेश्वरमा ल्याई चढाउने चलन छ ।

विश्रान्ति: धनकुटाको विश्रान्ती मन्दिर परिसरमा अवस्थित शिवालयमा नजिकैको तमोर नदीको जल चढाउन भक्तहरूको घुइँचो लाग्छ ।

देवघाट: चितवन, नवलपरासी तथा तनहुँको संगमस्थल देवघाट नेपालको ठूलो धार्मिक केन्द्रका रूपमा स्थापित हँुदैछ । नारायणी नदीको किनारमा अवस्थित यो धार्मिक क्षेत्रमा साउनको सोमबार जल चढाउने भक्तजनको ठूलो भीड लाग्छ । यहाँ नारायणी नदीबाट ल्याइएको जल शिवालयमा चढाइन्छ ।

पशुपतिनाथ:साउन महिनामा सबैभन्दा बढी भक्तजन ओइरिने मन्दिर काठमाडौंको पशुपतिनाथ नै हो । पशुपतिनाथमा नेपालका मात्र नभएर भारतलगायत अन्य देशका श्रद्धालु भक्तजनको समेत भीड लाग्छ । सुन्दरीजलबाट ल्याइएको जल पशुपतिनाथमा चढाए पूण्य कमाइने विश्वास रहँदै आएको छ ।

डोलेश्वर महादेव: भक्तपुरस्थित डोलेश्वर महादेवको मन्दिरमा पनि साउने सोमबारका दिन ठूलो भीड लाग्छ । यो मन्दिरलाई भारतको प्रसिद्ध केदारनाथ मन्दिरको शिर मानिन्छ । यहाँ जल चढाउन भारतबाट समेत भक्तजन आउँछन् ।

गोदावरी: कैलालीको गोदावारीमा साउनका सोमबार विशेष घुइँचो लाग्छ । पश्चिम नेपाललगायत भारतका विभिन्न स्थानबाट आएका भक्तालुले शिवालय नजिकको गोदावारी नदीबाट ल्याएको जल चढाउने चलन छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img