मकवानपुर: पुर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष इन्द्रमणि तिमल्सिनाले वडाभित्रका सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गर्न सुरु गरेका छन् । शनिबार वडाभित्रका दुई दिनदेखि सुत्केरी भएकी माइली माया लोप्चनलाई घरमै पुगेर वडाध्यक्ष तिमल्सिनाले करिब ५ हजार रुपैयाँ बराबरको पोषण सामग्री वितरण गरेका हुन् ।
वडाभित्रका सुत्केरी महिलाहरुको पोषणमा सुधार ल्याउने उद्देश्यले आफ्नो व्यक्तिगत खर्चबाट पोषण सामग्री उपलब्ध गराएको अध्यक्ष तिमल्सिनाले बताए। साउन १ गतेबाट २०८१ असार मसान्तसम्मका लागि आफुले वडाभित्रका सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरिने उनले बताए । उनले जनतालाई समस्या परेको वेला आफुले केही भएपनि राहत होस् भनेर आफ्नो तलबभत्ताबाट पोषण सामग्री वितरण गर्न सुरु गरेको बताए । सुत्केरी भएका हरेक महिलाहरुलाई लोकल कुखुरा, तोरीको तेल, विभिन्न मसलाहरु र साबुन वितरण गरिने उनले बताए ।
साउन १ गते अध्यक्ष तिमल्सिनाले जारी गरेको सुचनामा सुत्केरी भएको १५ दिनभित्र सम्बन्धित परिवारको सदस्यले वडामा उपस्थित भएर स्वास्थ्य संस्थामा सुत्केरी गराएको प्रमाणपत्र ल्याउन भनिएको थियो । यस्तै बच्चाको जन्मदर्ता पनि गराउनुपर्ने जनाएको छ ।



